देश/प्रदेश

स्थानीयको आवतजावतका लागि तातोपानी नाका खुला

By खबरहब

September 01, 2023

सिन्धुपाल्चोक– चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुला भएको छ । लामो समय आवागमन बन्द रहेको नाका आजबाट खुलेको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यसअघि मानिसको आवतजावत खुल्न नसकेकोमा आजदेखि स्थानीयको आवागमन खुला  भएको  बताए ।

उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।