यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ– यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ– यिनले फुर्की नखेले पनि
– माधवप्रसाद घिमिरे (गौरी शोककाव्य )
आजभन्दा ७६ वर्षअघि दुई लालाबालाकी ममतामयी आमा गौरीको असामयिक निधन भएपछि शोकबाट विक्षिप्त कवि माधवप्रसाद घिमिरे गौरी शोककाव्य जन्माए । दुई अनाथ सन्तानको पालन पोषणको विषयलाई लिएर एउटा पिताको छटपटी त्यो काव्यमा छताछुल्ल पाइन्छ ।
आधा शताब्दी पहिलेको सामाजिक वस्तुस्थिति सहज थिएन । तिनै सन्तानलाई ममताको छहारीबाट बिचलित नगराउन उनले महाकालीलाई दोस्री पत्नीका रुपमा भित्र्याए । गौरी शोककाव्य पढेर पत्नी बियो खपेका धेरै मानिसले घाउमा मल्हम लगाए ।
अहिले जमाना फेरिएको छ । पति गुमाएका महिलाले सहजसँग रातो वस्त्र लगाउन थालेका छन् । काजकिरिया छोट्याउने क्रम तीब्र बनेको छ । बाआमाको काममा बसेकाहरूको शैली पनि सहज देखिन्छ ।
अचम्म त के भने पहिला पहिला असम्भव ठानेर, मानेर बनेका आहान झूटा सावित हुँदै गएका छन् । ‘गर्भको बात कसले जानोस’ यो उक्ति स्वास्थ्य विज्ञानमा आएको चमत्कारले सच्याउन योग्य भएको धेरै भइसक्यो ।
हुँदा हुँदा बाआमाको जन्ती जानु अपराध भन्ने सामाजिक मान्यतालाई चुनौती दिँदै आफ्नै सन्तान बाआमाको जोडी खोजिदिन सक्रिय हुन थालेका छन् । ‘बाउको बिहे देखाइदिउँला नि’ भन्ने गाली आशीर्वादमा परिणत हुन थालेको छ ।
अघिल्लो घरजम नचलेपछि चर्चित बैंकर्स रविना देशराजले विदेशीसंग दोस्रो विवाह गरिन । उदेकलाग्दो त के भने कलाकार छोरा बुहारी आयुष्मान र प्रियंकाले उनलाई अन्माए । यो विवाह नवजोडीको भन्दा कम थिएन । परिवारका सबै सदस्य उत्साही थिए । सामाजिक सञ्जालदेखि आमसञ्चारमा सर्वत्र सकारात्मक प्रतिक्रिया देखियो ।
केही दिनअघि गजलकार अम्बिका पोखरेल ‘कार्की’ ले २५ वर्षपछि दोस्रो विवाह गरिन् । र, उनलाई आफ्नै छोरी अपर्णाले अन्माइन् ।
कक्षा १० मा पढ्दा पढ्दै प्रेम परेकी उनले एसएलसी पास गरेपछि २०५१ सालमा उनले प्रेमी ओम कार्कीसँग पारिवारिक सल्लाहमै विवाह गरिन् । विवाह गर्दा उनी जम्मा १५ वर्षकी थिइन् । उनका श्रीमान् नेपाल प्रहरीमा थिए । विवाह गरेको चार वर्षमा उनीहरूको छोरी जन्मिइन् ।
परिवार सुख र आनन्दले चलिरहेको थियो । तर २०५६ मा अम्बिकाले सोच्नै नसक्ने घटनाको सामना गर्नुपर्यो । माओवादी द्वन्द्वमा उनको श्रीमानको ज्यान गयो । चितवनको प्रहरी ब्यारेकमा भएको हमलामा ओम सहिद भए । २० वर्षको कलिलो उमेर, एक वर्षकी काखे बालक उनको जीवन भयानक हुने उनले अनुमान गरिन् ।
सानी छोरी लिएर उनी गाउँघरमा दैनिक कामकाजमा पुग्दा अनेकन वचन र लाञ्छना सुन्नुपर्यो । तर उनले छोरीको लागि सबै सहिन् । जीवन संघर्ष नै रहेछ भनेर उनले स्वीकार गरिन् । छोरीको भविष्य राम्रो बनाउनेतर्फ डटेर लागिन् । छोरीले पनि उनको संघर्ष बुझेर पढिन् । सोचेजस्तै छोरी पढाइमा अब्बल निस्किइन् ।
२०७९ वैशाखमा छोरीको विवाह भयो । त्यसपछि भने उनी नितान्त एक्लो भइन् । श्रीमानले संसार छोडेर एक्लो भइन्, छोरीले घर छोडेर उनी झनै एक्लो भइन् ।
छोरीले बिहे गरेर गएपछि परिवार, माइती सबैतिरबाट उनलाई दोस्रो बिहे गर्नुपर्ने प्रस्ताव आउन थाल्यो । छोरीप्रतिको अधिकांश जिम्मेवारी पूरा गरेकाले उनलाई पनि अब एक्लै भन्दा साथीसँग हुनु उचित हुने ठहर गरिन् र दोस्रो विवाहको लागि राजी भइन् ।
त्यसैक्रममा माइती पक्षले बुटवल तिलोत्तमाका कुञ्जरमणि ज्ञवालीको प्रस्ताव ल्याए । ज्ञवाली पनि एकल पुरुष थिए । उनले कोरोना महामारीमा पत्नी गुमाएर एकल जीवन बिताइरहेका थिए । बुबाको लागि पनि छोरीले नै अम्बिकाका लागि बिहेको प्रस्ताव राखेकी थिइन् । दुवै परिवारको सर सल्लाहमा विवाह सम्पन्न भयो ।
अञ्जु पन्त– थिर कोइराला
थीर र अञ्जु पन्तको पहिलो भेट सन् २०१३ (२०७०)मा नेपाल टेलिभिजनमा भएको थियो । त्यतिबेला थीर टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे । अञ्जु सोही कार्यक्रममा अतिथि बनेर आएकी थिइन् ।त्यसबेला औपचारिक कुराकानी मात्र भयो । तर, सन् २०१७ मा अञ्जुले फाउन्डेसन खोल्ने सिलसिलामा राम्रोसँग चिनजान भयो । सहकार्य गर्दागर्दै साथी बने ।
अञ्जुले कलिलै उमेरमा गायक तथा संगीतकार मनोजराजसँग विवाह गरेकी थिइन् । मनोज र उनको एक छोरी पारितोषिका छिन् । तर, उनीबीचमा सहकार्य हुन नसकेपछि सम्बन्धविच्छेद गरि आ–आफ्नो बाटो तय गर्ने निर्णय गरे ।
छोरी अञ्जुसँग थिइन् । उनी सम्बन्ध विच्छेद पश्चात विवाह गर्ने सोचमा थिइनन् । तर सम्बन्धविच्छेद भएको एकदशक पछाडि छोरीले नै उनलाई विवाह गर्नुपर्ने सल्लाह दिइन । मिडियामा अन्तर्वाताका क्रममा पनि उनले ममीले विवाह गर्नुपर्ने जिकिर गरिरहन्थिन् । मनोजराजले भने कृष्णा शिवाकोटीसँग बिहे गरिसकेका थिए ।
थिरले स्थापना कालदेखि नै फाउन्डेसनमा सचिवको रुपमा काम गर्थे । छोरीले अंकल राम्रो मान्छे हुनुहुन्छ भनेर कन्भिन्स गर्थिन् । उनीहरु दिनकै भेटेर मिटिङ बस्ने रहेछन् । अञ्जु भन्छिन, ‘माथिबाट एउटा कनेक्सन आउँदो रहेछ, अब बिहे गर्ने बेला भयो भनेर ।’उनले विवाह ईश्वरकै योजना भएको बताउँछिन् ।
छोरीको दबाबका कारणले पनि उनले बिहेको विषयमा सोचिरहेकी थिइन् । चिनजान भएको ३ वर्षपछि उनीहरु करिब एक वर्ष‘रिलेसनसिप’मा बसे । र उनी विवाहको लागि तयार भइन् । उनीहरूले घरपरिवारसँगको सल्लाहमा विवाह गरे । दुवैले इसाइ धर्म मान्छन् । थीर इलामका हुन् । अमेरिकाको ग्रीनकार्ड रहेको यो जोडी नेपाल-अमेरिका दुवैतिर बसोबास गर्दै आएको छ ।
यम बराल र गीता शिवाकोटी ‘गीताञ्जली’
इलाममा जन्मिएका बराल तीन दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । बरालको आकृति राणासँगको पहिलो विवाह अघि बढ्न सकेन । १२ वर्षअघि कानुनी प्रक्रियाबाटै जोडी छुट्यो । छोरा हुर्काउने जिम्मेवारी यमले लिए । त्यसैक्रममा उनको नेपाली कांग्रेस निकट गीता शिवाकोटीसँग निकटता बढ्दै गयो । गीता राजनीतिसँगै समाजसेवा पनि सक्रिय थिइन् । उनको यमसँग भन्दा पनि छोरासँग सामिप्य बढ्यो । कलिलो उमेरमा आमासँग बिछोडिएको र बाबु पनि कन्सर्टका लागि विदेशमा डुलिराख्ने भएकाले छोरो अभिभावक विहीनजस्तै बनेको थियो । गीता छोराको अभिभावकको रुपमा प्रकट भइन ।
एक दिन यस्तो दिन आयो कि छोराले यमको पर्समा ‘ड्याडी म्यारी हर गीता’ भनेर सन्देश लेखेर छोडिदिए । छोराको खुशीका लागि बिहे गर्ने निधोमा पुगेको तर्क यमको छ । प्रकाश सुवेदीद्वारा सञ्चालित कार्यक्रम रजतपटले उनीहरु दुलाहा र दुलहीका रूपमा नाचगान गरिरहेको भिडियो सार्वजनिक गरेपछि उनीहरुले आफ्नो सम्बन्धलाई स्विकार गरे ।
हरिवंश आचार्य र रमिला पाठक
करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो – हरिवंश । उमेरले उनी ६५ वर्ष नाघे ।
जीवनसंगिनी मीरासँग बिछोडिएको एक वर्षभन्दा बढी समय उनले भयानक एक्लोपनमा बिताए। तर शुभचिन्तक र साथीभाइहरूले उनलाई दोस्रो विवाह गर्ने सल्लाह दिए । उनलाई विवाह गर्ने मन पटक्कै थिएन । पछि, छोराहरूले नै उनलाई दोस्रो विवाहका लागि प्रेरणा दिए ।
सन्तानले एकल अभिभावकको इच्छा बुझ्न सके अभिभावक पनि सुखी हुन्छन् । दोस्रो विवाहको निर्णय लिन निकै गाह्रो भयो । २०६९ असारमा रमिला पाठकसँग दोस्रो बिहे गरे । सुरुमा त्यो निर्णय गलत लागेपनि उनलाई अहिले सहीनिर्णय लिए भन्ने महसुस भएको छ ।
यो सिलसिला यतिमै सकिदैन । साहित्यकार कृष्ण धरावासीले २०६९ सालमा पत्नी सीता गुमाएपछि त्यसै वर्ष तेह्रथुम आठराईकी मञ्जु विमलीसंग दोस्रो विवाह गरे । पत्नीको वियोगमा लेखिएको ‘राधा’ बहुचर्चित कृति मानिन्छ । उनले पनि आफ्नो दोस्रो विवाहको जस सन्तानलाई दिने गरेका छन् । धरावासी जोडी अमेरिका बसोबास गर्दै आएको छ ।
एक्लोपन मृत्यु भन्दा भयानक हुन्छः समाजशास्त्री
समाजशास्त्री सविता प्रसाईं एक्लोपन मृत्युभन्दा पनि पीडादायी हुने बताउँछिन् । एकल बुवा आमाको पीडा बुझेर दोस्रो विवाहका लागि आग्रह गर्ने र गराइदिने सन्तानलाई उनले सम्मान गर्ने बताइन् । उनी भन्छिन्, ‘महिला पुरुष दुवैलाई एक अर्काको सहाराको खाँचो पर्छ, त्यो सामाजिक, आर्थिक साथै जैविक आवश्यकता पनि हो ।’
‘अहिले समाज परिवर्तन हुँदै गएको छ । एकलहरुले पनि आफ्नो जिन्दगी जिउन पाउनुपर्छ भनेर दोस्रो विवाह स्वीकार हुनु सकारात्मक हो ।’ उनको निष्कर्ष छ ‘अर्को अहिले छोराछोरी विदेशिने क्रम छ । उनीहरूले विदेशमा एकलहरुले दोस्रो विवाह गरेर खुसी साथ बसेको देखे, जसको कारण एकलले दोस्रो विवाह गर्न आवश्यक रहेको बुझे ।’
पहिले समाजमा बालविवाह थियो, सति प्रथा थियो ।श्रीमती मरेको १३ दिन पनि नपुग्दैबाट अर्को घर सम्हाल्ने मान्छे खोजिन्थ्यो । तर महिला भने २० वर्षको उमेरमा एकल भएपनि सामाजिक परिबन्धमा बस्नुपर्ने थियो । समयसँगै यो कुराहरु परिवर्तन हुँदै जानु सकारात्मक हो । एकलहरुले आफूलाई आजीवन कुण्ठित भएर बस्न नहुने उनको राय छ ।