तस्बिर- एएफपी

अन्तर्राष्ट्रिय

गिनी बिसाउको राजधानीनजिकै गोली हानाहान

By खबरहब

December 01, 2023

बिसाउ- अफ्रिकी मुलुक गिनी बिसाउमा नेसनल गार्डका सैनिक र विशेष सुरक्षा बलबीच गोली हानाहान भएको छ । गिनी बिसाउमा नेसनल गार्डका सैनिकहरूले बिहीबार राति प्रहरीले सोधपुछ गरेका दुई सरकारी अधिकारीलाई पदबाट मुक्त गरेपछि विशेष बलसँग गोली हानाहान भएको सेना र गुप्तचर स्रोतहरूले बताएका हुन् ।

अर्थमन्त्री सुलेमान सेइदी र ट्रेजरी राज्यमन्त्री एन्टोनियो मोन्टेइरोलाई बिहीबार बिहान बोलाएर न्यायपालिकाले हिरासतमा लिएको थियो । प्रहरीले राज्य कोषबाट एक करोड अमेरिकी डलरको निकासीका बारेमा दुवै अधिकारीहरूसँग घण्टौँसम्म सोधपुछ गरिएको उक्त स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले सेइदीसँग राज्यकोषबाट रकम निकासीका बारेमा प्रश्न गरेका थिए । उनले निकासी कानूनसम्मत रहेको र राष्ट्रिय निजी क्षेत्रलाई समर्थन गर्नु त्यसको उद्देश्य रहेको दाबी गरेका थिए ।

नेसनल गार्डका सदस्यहरूले राजधानी बिसाउबाट दक्षिणमा पर्ने सान्ता लुजिया जिल्लाको ब्यारेकमा आश्रय लिनुअघि बिहीबार राति सेइदी र मोन्टेइरोलाई अज्ञात स्थान लगेको स्रोतहरूले बताएका छन् । त्यसपछि छिमेकको ब्यारेक नजिकै ठूलो गोली हानाहानको आवाज सुनेको एएफपीका एक पत्रकारले बताएका छन् ।

स्रोतहरूका अनुसार मध्यस्थताको धेरै असफल प्रयासपछि विशेष बलहरूले हस्तक्षेप गरेका थिए र गोली हानाहानपछि शान्ति बहाल भएको छ । इकोनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स (इकोवास) ले देशमा तैनाथ गरेको गिनी बिसाउ स्टेबिलाइजेसन सपोर्ट फोर्सका सदस्यहरू शुक्रबार बिहान बिसाउको सडकमा गस्ती गरिरहेको देखिएको एएफपीका पत्रकारले बताएका छन् ।

सन् २०१९ डिसेम्बरमा निर्वाचित राष्ट्रपति उमारो सिसोको एम्बाले हाल २८औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) मा भाग लिन दुबईमा छन् । उनले सेप्टेम्बरमा दुई जनरल टोमस जस्सी र होर्टा इन्टालाई क्रमशः राष्ट्रपतिको सुरक्षा प्रमुख र चिफ अफ स्टाफका रूपमा नियुक्त गरेका थिए ।

पश्चिम अफ्रिकामा विशेष रूपमा ग्याबोन, नाइजर, माली, बुर्किना फासो, गिनी र यसै साता फेरि सिएरा लियोनमा सरकारलाई अपदस्थ गर्ने प्रयास बढिरहेका बेला राष्ट्रपतिको सुरक्षामा उक्त सुदृढीकरण गरिएको हो ।