ब्रेकिङ स्टोरी

केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर पर्‍यो : झलनाथ खनाल

By खबरहब

December 01, 2023

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर परेको बताएका छन् ।

शुक्रबार खबरहबसँग कुरा गर्दै उनले केही कम्युनिस्ट भनिने पार्टीहरुमा बोक्रो मात्र कम्युनिस्ट विचार,कार्यशैली र आचरणमा दक्षिणपन्थी भड्काउ आएकाले यसले वाम एकतामा असर पारेको बताए ।

वाम एकताको पक्षमा यहाँहरु हुनुहुन्थ्यो तर अहिले यो हल्ला सेलायो नि भन्ने प्रश्नमा उनले भने, ‘बाहिर मात्र सेलाको हो । कुराहरू आवश्यकता अनुसार हुँदै जान्छन् । केही कम्युनिस्ट पार्टीहरूको बेइमानी र दक्षिणपन्थी भड्काउ शैलीका कारण एकतामा असर पुगेको छ । तर, विस्तारै ती कम्युनिस्ट पार्टीहरूले यो कुरा बुझ्लान् ।’

उनले नेकपा एमालेतिर अंकित गर्दै कम्युनिस्ट पार्टीले पार्टीको सिद्धान्त र शैलीअनुसार काम नगरे देशको कम्युनिस्ट आन्दोलनले क्रान्तिकारी गति नलिने र बाह्य शक्तिहरूले त्यसको फाइदा उठाउने बताए ।

पछिल्लो समय उनको एमालेसँग सम्बन्ध सुधार भएको संकेत देखिएको मिडियामा कुराहरू आए पनि तत्काल एमालेसँग कुनै छलफल संवाद तथा कुराकानी नभएको प्रष्ट पारे ।