राजनीति

प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव

By खबरहब

December 01, 2023

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई प्रशिक्षण दिन व्यस्त रहेका छन् । प्रदेशदेखि स्थानीय तहका समितिले आयोजना गरेका प्रशिक्षणमा अध्यक्ष यादवले नेता, कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् ।

अध्यक्ष यादवले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानका दौरान आयोजना भएका अभिमुखीकरण कार्यक्रममा दैनिक ६ देखि ८ घण्टासम्म प्रशिक्षण दिने गरेका छन् । आयोजकले कम्तीमा दुई दिनसम्म प्रशिक्षण कार्यक्रम राख्ने गर्दछन् ।

समसामयिक राजनीति, पार्टीको वैचारिक तथा सैद्धान्तिक विषय, नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययनलगायतका विषयमा अध्यक्ष यादवले प्रशिक्षण दिने गरेका छन् ।

अध्यक्ष यादव कार्यकर्ता प्रशिक्षणका लागि मंसिर १७ गते बाँके पुग्ने कार्यक्रम छ । लगत्तै मंसिर १९ गतेदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय तीन दिवसीय प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक अध्यक्ष यादव नै रहने छन् । यादव प्रशिक्षण कार्यक्रममा व्यस्त हुँदा उनका पछिल्ला राजनीतिक भेटघाटहरू प्रभावित भएका छन् ।