फाइल तस्वीर

ब्रेकिङ स्टोरी

समर्थक र शुभेच्छुक भेट्न रवि लामिछानेसहित रास्वपाका दुई नेता विदेश जाँदै

By खबरहब

December 01, 2023

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार (भोलि) देखि विभिन्न देशको भ्रमणमा जाने भएका छन् ।

उनी शनिबार राति १० बजे मलेसिया जाने कार्यक्रम छ । उनी त्यहाँ २१ गतेसम्म रहने बताइएको छ । त्यसपछि उनी २१ गतेदेखि २३ गतेसम्म कतारमा रहनेछन् । कतारपछि २४ गतेबाट २८ गतेसम्म बेलायतको भ्रमणमा रहने प्रवासी नेपाली सम्पर्क विभाग प्रमुख तथा पार्टीका उपसभापति डोलप्रसाद अर्यालले खबरबलाई बताए ।

लामिछानेसँग रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दिपक बोहोरा पनि सहभागी हुनेछन् ।

निर्वाचन जितेपछि नै उनी बाहिर जाने तयारी थियो । तर, नागरिकताका विषयमा उत्पन्न विवादका कारण उनको विदेश भ्रमण रद्द भएको थियो । त्यसपछि चितवन २ मा भएको उपनिर्वाचनमा भाग लिनुपर्ने भएकाले उनी जान भ्याएका थिएनन् ।

अर्यालले भने, ‘सभापतिज्यूले विदेशमा रहेका नेपालीहरूसँग भेटेर धन्यवाद व्यक्त गर्ने कार्यक्रम छ । त्यसपछि हामीलाई माया गरेर विदेशमा बसेका नेपालीहरूको सल्लाह लिनुहुनेछ ।’

रविको सचिवालयका अनुसार उनले विभिन्न देशका राजनीतिज्ञ तथा पार्टी र सरकारका व्यक्तिहरुलाई भेटेर अनुभव लिने तथा छलफल गर्ने समेत कार्यक्रम छ । तर, कुन देशको कोसँग कति बेला भेट्ने भन्ने कुराको समय निर्धारण भएको छैन ।