आर्थिक

संकटकालीन अर्थतन्त्र कसरी उकास्ने ?

By सुनिता भूल

January 02, 2023

काठमाडौँ – विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स र नेपाल भित्रिरहेका विदेशी पर्यटकका कारण नेपाली अर्थतन्त्रले घुँडा टेके पनि सास जोगाएको छ। छिमेकी श्रीलंका आर्थिक रुपमा टाट पल्टिदा नेपालको अवस्था पनि लगभग त्यस्तै थियो।

चुनावअघिको परिदृश्य निकै संकटकालीन हुँदा धेरैले अर्थतन्त्रबारे टिप्पणी गर्न सकेका थिएनन्। तर अहिले नेपालको अर्थतन्त्र ढिलै भए पनि बिस्तारै पुरानो लयमा फर्किन थालेको छ। नयाँ सरकार बन्नेवित्तिकै शेयरबजारले उकालो यात्रा तय गरेको छ।

तर पनि घरजग्गाको कारोबार घटेको छ। बैंकहरुले ऋण दिन सकेका छैनन्। व्यवसायी ब्याजदर महंगो भएको भन्दै आन्दोलनमा छन्। आयात खुकुलो पारिएपनि बजारमा उत्साह छैन। पछिल्लो समय पसल बेच्नेहरुको लर्को छ।

अनलाइन शपिङ बढेपछि मानिसहरु बजार निस्किन छाडेका छन्। महंगो मूल्य लगाएर बजारमा पसल चलाएकाहरु पछिल्लो समय बिस्तारै पलायन हुने बाटोमा छन्। युवा व्यवसायीहरु धमाधम नयाँ नयाँ व्यापार थाल्ने योजना बनाउँदा अहिलेको आर्थिक संकटले धेरैलाई संकटमा धकेलेको छ।

अब कम्तीमा अहिलेको आर्थिक संकट पार लगाउन नयाँ अर्थमन्त्री बनेका विष्णु पौडेलले निर्णायक कदम चाल्न आवश्यक छ।

पहिले भूकम्प, पछि कोरोना महामारीका कारण पनि व्यवसाय चौपट भयो। सरकारले जेनतेन केही गरी महामारी पार लगाएपनि व्यवसायीको घाउमा मल्हम लगाउन सकेको छैन। जसकारण व्यवसायीहरु सरकारबाट त्यति आशातीत छैनन्।

तर पनि कोरोना महामारीको असरले धुलिसात पारेको व्यवसायलाई फेरि लयमा फर्काउन सरकारका प्रयासहरु निर्णायक हुन्छन्। त्यसैले पनि केही न केही ढंगबाट सरकारी प्रयासहरु अघि बढ्न आवश्यक छ। नयाँ अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा कसरी नयाँ यात्रा तय गर्छन्, त्यसले अहिलेको आर्थिक संकटलाई पार लगाउने अवस्था आउँला।

तर उनी अर्थमन्त्री भएर आएसँगै डेलिगेसन बुझाउने व्यवसायीको संख्या ठूलै छ। एकपछि अर्को गरी अर्थमन्त्रीकहाँ डेलिगेसन जाने व्यवसायीलाई अब निराशाबाट आशाको बाटोमा अर्थतन्त्र हुनुपर्नेमा जोड दिइरहेका छन्।

शेयरबजार लयमा फर्किदा मात्रै पनि धेरै व्यवसायी आश गरेर बसेका छन्। तर त्यसले राहत दिन सक्दैन। अब कम्तीमा अहिलेको आर्थिक संकट पार लगाउन नयाँ अर्थमन्त्री बनेका विष्णु पौडेलले निर्णायक कदम चाल्न आवश्यक छ।

व्यवसाय गर्न चाहने युवाहरुलाई सहुलियत दरमा ऋण दिएर उकास्नुपर्छ। अनि मात्रै व्यापार व्यवसाय बढेर देश फेरि लयमा फर्किन सक्छ।

विदेशी तथा दातृ निकायको ऋण मात्रै २० खर्ब बढी हुँदा त्यसले नेपालको आर्थिक अवस्था कति तल धरातलमा पुगेको छ भन्ने देखाउँछ। त्यसलाई लयमा ल्याउन पनि धेरै परिवर्तनको आवश्यकता छ। तर त्यसले मात्रै परिवर्तन ल्याउन भने सक्दैन।

अहिलेको अवस्थामा वैदेशिक ऋण एकातिर महंगो ब्याज चुक्ता गरिरहनु परेको छ भने अर्कातिर स्वदेशी उत्पादन घटिरहेका छन्। त्यसैले गर्दा अब कृषि, पर्यटन लगायतका स्वदेशी बस्तुको उत्पादनलाई बढावा दिएर आयात केही हदसम्म घटाउनुपर्छ।

त्यससँगै व्यवसाय गर्न चाहने युवाहरुलाई सहुलियत दरमा ऋण दिएर उकास्नुपर्छ। अनि मात्रै व्यापार व्यवसाय बढेर देश फेरि लयमा फर्किन सक्छ। अन्यथा, अहिलेको आर्थिक अवस्था सुधार हुन नसकेमा व्यापार व्यवसाय त चौपट हुन्छ नै यसले नेपालको अर्थतन्त्र झन् धराशायी हुन्छ।