फाइल फोटो

ब्रेकिङ स्टोरी

सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

By खबरहब

February 02, 2023

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो। ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए। उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो। 

फैसला भएको एक दशकसम्म पनि आरोपित फरार रहेका थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको छ । चौधरी  कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।