समाचार

नारायणीको उत्तरी भङ्गालोमा पानी फर्काउन थालियो

By खबरहब

February 02, 2023

काठमाडौँ – नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा नदीमा डोजर लगाएर उत्तरी भङ्गालोमा नदीको पानीलाई फर्काउन सुरु गरिएको नगरप्रमुख अधिकारीले बताए । शिख्रौली उपभोक्ता समितिका अध्यक्ष उमेश शाहीले पानीको बहाव फर्काउनका लागि आज गिद्देनी पोस्टसम्म काम गरिएको जानकारी दिए ।

यसअघि नारायणी नदीको पानी नदीजन्य पदार्थको उत्खन्नका कारण चितवनतर्फको दक्षिणी भङ्गालोमा मात्रै बग्दा निकुञ्जको सुरक्षा र जैविक विविधतामा गम्भीर असर पर्ने भन्दै यही माघ २ गते र आज राससमा समाचार प्रकाशित भएको थियो । चितवनको सेती देवी सामुदायिक वनको आसपास नदीजन्य पदार्थको उत्खनन् गरिँदा नारायणी नदीको पानी ९५ प्रतिशत बढी दक्षिणी भङ्गालोमा बग्न सुरु गरेपछि नवलपुरतर्फका उत्तरी भङ्गालो सुक्खा भएको थियो ।