राजनीति

प्रचण्ड–ओलीले समय मागेपछि लचक बन्यो रास्वपा

By खबरहब

February 02, 2023

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकार नछोड्ने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् ।

बैठकअघि रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका थिए । दुवै नेताले फोनमा सरकार छाड्ने निर्णय हतारमा नलिन आग्रह गरेका थिए । उनीहरुले दुई दिन समय मागे प्रवक्ता डा. मुकुल ढकालले बताए । त्यसै अनुसार वैठकले निर्णय लिएको छ ।

यस्तै प्रवक्ता डा. ढकालले गृह मन्त्रालय पार्टीले कुनै हालतमा नछाड्ने बताए । साथै, आफूले पाएको मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय पार्टीमै निहित रहने उनको भनाइ छ । गृहमन्त्रीमा कसलाई पठाउने भन्ने पार्टीले निर्णय लिइनसकेको उनको भनाइ छ ।