अन्तर्राष्ट्रिय

चिनियाँ ल्याब, कोरोनाको उत्पत्ति र एफबीआईको तरंग

By मनोज घिमिरे

March 02, 2023

फेडरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबीआई)का निर्देशक क्रिस्टोफर रेले कोभिड-१९ को उत्पत्ति सरकार नियन्त्रित चिनियाँ ल्याबबाट नै भएकोमा आफू विश्वस्त रहेको बताएका छन्। अमेरिकाको प्रतिष्ठित सञ्चार माध्यमसँगको कुराकानीमा रेले ब्युरोको बुझाइमा कोभिड-१९ प्रयोगशालामा भएको दुर्घटनाका कारण सिर्जत महामारी भएको बताएका हुन्।

कोरोना भाइरस कसरी उत्पत्ति भयो ? भन्ने बारेमा एफबीआईको यो पहिलो आत्मविश्वासको साथ सार्वजनिक भएको अभिव्यक्ति हो। धेरै वैज्ञानिक भने ल्याबबाट नै यो बाहिर निस्किएको कुरामा कुनै आधार नभएको बताउन थालेका छन्। त्यसो त एफबीआईको यो धारणामा अमेरिकाका अन्य निकायको धारणा सार्वजनिक हुन बाँकी नै छ। जनावरबाट मानिसमा सरेको तर्कलाई पनि पूर्ण रूपमा अस्वीकार भने गरिएको छैन।

ह्वाइट हाउसले बारम्बार कोरोना भाइरसको उत्पत्तिबारे आफ्नो देश बाहिर भएको कुनै पनि छानबिनलाई स्वीकार गर्न नसकिने जनाएको छ। विश्व स्वास्थ्य सङ्गठन र चीन मिलेर सन् २०२१ मा गरेको अनुसन्धानले ल्याबबाट भाइरस लिक भएको सम्भावना न्यून भएको ठहर गरेको थियो।

पछिल्लो समय डब्लूएचओले कोरोना भाइरसको उत्पत्ति बारेका सबै सम्भावना खुला रहेको जनाएको छ। चीनका लागि अमेरिकी राजदूतले कोरोना भाइरसको उत्पत्ति बारे चीन इमानदार हुनुपर्ने धारणा राखेको एक दिनपछि रेको अभिव्यक्ति सार्वजनिक भएको हो।

मंगलबारको अन्तरवार्तामा भने रेले चीनले कोरोना भाइरसको उत्पत्तिको छानबिन उत्कृष्ट ढङ्गले गरिरहेको बताएका थिए। तर, अमेरिका मात्र होइन संसारका धेरै देश उत्पत्तिका बारे चीनले बाहिर कुरा ल्याउनेमा सशङ्कित छन्। रेले इमर्जेन्सी रुपमा एफबीआईले अनुसन्धान गरिरहेको र लामो समयपछि यो सम्भावनाको नजिक पुगेको बताएका हुन्।

एफबीआईको धारणा सार्वजनिक भएपछि बेइजिङले अमेरिका राजनीतिक विषयान्तर गर्न चाहेको बताएका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ नीङले यस विषयलाई आधारहीन र मनोगत भएको प्रतिक्रिया दिएका छन्।

सी फुड र वाइल्ड लाइफ बजारका लागि परिचित चीनको हुवानमा जनावरबाट मानिसमा सरेर कोरोना सङ्क्रमण यसरी संसार भर फैलिएको धेरै जना बताउँछन्। त्यो बजार संसारकै ठूलो भाइरस प्रयोगशालाको नजिक छ। त्यसै प्रयोगशालामा कोरोना भाइरसबाट अहिले अध्ययन भइरहेको छ।

केही दिन अघि अमेरिकी ऊर्जा विभाग पनि भाइरसका ल्याबबाट नै चुहिएको कुरामा सहमत रहेको बताउँदै यसलाई पुष्टि गर्ने थप आधार फेला पार्न अझ केही दिन लाग्नसक्ने जनाएको थियो। सोही समयमा विभागले अध्ययनलाई जारी राख्ने जनाएको थियो ।

ऊर्जा विभागले आफ्नो कुरा सार्वजनिक गर्दै धेरै वैज्ञानिकले ल्याबबाट नै कोरोना बाहिर आएको कुरामा हालै थप केही आधार फेला परेको बारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए।

ग्लास्गो विश्वविद्यालयका भाइरल जेनोमिक्स तथा बायो इन्फर्मेटिक्सका प्राध्यापक डेभिड रोबर्टसनले प्राकृतिक रूपबाट नै कोरोना उत्पत्ति भएको सम्भावना बलियो भएको बताएका छन्। उनले मानिसको बीचमा चमेराको उपस्थिति पछि नै भाइरस फैलिएको केही आधार सञ्चय गरेको बताएका छन्। हुवानको ल्याब नजिकै चमेरा पाइने बजार पनि छ। त्यसै बजार जिम्मेवार रहेको तथा प्राकृतिक रूपमा नै यो सिर्जित भएको कुरामा आफ्नो मत रहेको उनले बताएका छन्।

सोमबार मात्र ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले कोभिडको उत्पत्ति कसरी भएको भन्ने कुरा पत्ता लगाउन अमेरिकी राष्ट्रपति जो वाइडेनले सम्पूर्ण शक्ति लगाउने कुरा जानकारी गराएका थिए। उनले अध्ययन मात्र गर्न नभई अमेरिकी नागरिक र संसद्लाई यस विषयमा जानकारी गराउन पनि ती सबै कुरा आवश्यक रहेको बताउँछन्।

स्पाइ बालोन प्रकरणले दुई देश बीचको सम्बन्ध बिग्रिरहेको समयमा यो विषय बाहिर आएको हो। चिनियाँ कम्युनिस्ट पार्टीको शासकीय शैलीका बारे अमेरिकी विधायकको द्विपक्षीय प्यानलले यो महिना श्रृखंलाबद्ध रूपमा यस विषयमा बहस चलाएको थियो।

संसद्को पहिलो सत्रमा मानव अधिकार तथा चिनियाँ उत्पादनमा अमेरिकी अर्थतन्त्रका बारे बहस भएको थियो। चीनको हुवानबाट कोरोना भाइरस फैलिएको तीन वर्ष नाघेको छ। यस तीन वर्षमा यसको उत्पत्तिको विषय अझै रहस्यमय नै छ।

एफबीआईको दाबी अनुसार सहरमा रहेको बायोलोजीकल रिसर्च सुविधा अन्तरगत यो सबै भएको हो। हुवानको इन्स्टिच्युट अफ भाइरोलोजीले दशक अघिदेखि नै चमेरोमा कोरोना भाइरसको विषयमा अध्ययन गरी रहेको थियो।

सवारी सधानमा ४० मिनेटको दूरीमा हुवानको बजार छ। जहाँ पहिलो पटक क्लस्टरमा कोरोना भाइरस देखा परेको थियो। यो नै हुवान इन्स्टिच्युट अफ भाइरसको ल्याबबाट निस्किएको विषयको सबैभन्दा बलियो र भरपर्दो आधार हो।

धेरैले प्राकृतिक रूपले नै यसको उत्पत्ति भएको विषयमा आफ्नो मत राखे पनि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जैविक हतियार निर्माण गर्ने प्रयासमा ल्याबबाट यो निस्किएको कुरा उठाएका थिए। संसारका सञ्चार माध्यममा पनि यस विषयमा मत विभाजित थियो। धेरै वैज्ञानिकले सोही समयदेखि कुनै पनि विषय पुष्टि गर्नका लागि थप आधार नभएको बताएका छन्।

अमेरिकी इन्टलीजेन्सका अनुसार हुवानको ल्याबका बारे तीन भिन्न अध्ययन भएका छन्। ती तीन वटै अनुसन्धानको आधारमा ल्याबबाट निस्किएको आधार बलियो भएको उनीहरूको मत हो। अमेरिकी भाइरोलोजिस्ट एन्थोनी फाउसी यसका बारे अझ धेरै अध्ययन जरुरी रहेको बताउँछन्। अबका केही अध्ययनले सही निष्कर्ष निस्किन सक्ने उनको धारणा छ। यस अघि २०२१ को मेमा नै फाउसीले हुवानको ल्याबका बारे अझ धेरै अध्ययन जरुरी रहेको बताएका थिए।

सन् २०२० मा कार्यालयमा प्रवेश गर्ने बित्तिकै राष्ट्रपति वाइडेनले कोरोना भाइरसको उत्पत्तिका विषयमा भएका अध्ययनको फाइल आफूले चाहेको बताएका थिए। उनको पनि चासोको विषय यो ल्याबबाट उत्पत्ति भएको तथा जनावरबाट सरेको भन्ने नै हो।

यसको अध्ययन हुँदै गएपछि धेरै वैज्ञानिकका लागि पनि उत्तर पाउनु भन्दा बढी प्रश्न उब्जन थालेका छन्। कोरोना महामारी चलिरहेकै समयमा सन् २०२१ को सुरुवातमा विश्व स्वास्थ्य सङ्गठनले अध्ययनका लागि वैज्ञानिकको एउटा समूह हुवान पठाएको थियो।

१२ दिन हुवानमा बिताएको सो समूहले ल्याबमा बनेको सम्भावनालाई न्यून ठहर गरेको थियो। सोही समयमा धेरै वैज्ञानिकले उनीहरूले पत्ता लगाएको विषयमा प्रश्न उठाएका थिए। ती वैज्ञानिकले गम्भीरता पूर्वक काम नगरेको आरोप लगाएका हुन्।

वैज्ञानिकका बीचमा लामो समयदेखि मान्यताको विषयमा बहस हुँदै आएका छन्। मानिसले चमेरोसँग संसर्ग गरेको भन्ने तर्क तथा ल्याबबाट उत्पत्ति भएको भन्ने दुवै विषय भन्दा फरक सम्भावनाको बारे पनि कुरा हुन थालेका छन्।

मानिस र विज्ञानको अनुपस्थितिमै चमेरोबाट उफ्रेर यो मानिसमा सरेको हुनसक्ने एउटा अनुमान पनि वैज्ञानिकको छ। कोभिड उत्पत्तिको सुरुवाती समयसम्म यसैलाई आधार मानिए पनि कोभिड बन्ने जेनेटिक किसिमको भाइरस चमेरो र अन्य जनावरमा नभएको तथ्य फेला परेको हो।

यो बहसको टुङ्गो लाग्न धेरै समय लाग्न सक्ने छ। तर रेको यो अभिव्यक्तिको तात्पर्य के हो भने कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययन अझ पेचिलो बन्ने छ। केही दिनमा वैज्ञानिकले केही नयाँ रहस्य पत्ता लगाउन सक्ने छन्। स्रोतः बीबीसी, न्यूयोर्क टाइम्स