अन्तर्राष्ट्रिय

बुर्किना फासोबाट पत्रकार निष्काशित

By खबरहब

April 02, 2023

वागादुगु- बुर्किना फासोले फ्रान्सको ला मोन्द र लिबरेसन दैनिकका संवाददाताहरूलाई निष्कासन गरेको छ ।

‘बुर्किना फासोस्थित संवाददाता सोफी डुसलाई देशबाट निष्कासन गरिएको छ । साथै एकै समयमा लिबरेसनबाट एग्नेस फेव्रे पनि निष्कासनमा परेकी छन्,’ मोन्दले आफ्नो वेबसाइटमा भनेको छ । पश्चिमी अफ्रिकी देशको उक्त कार्यलाई अस्वीकार्य भन्दै उक्त कदमको निन्दा गरिएको छ ।

शनिबार निष्कासनमा परेका दुवै महिला आइतबार बिहान पेरिस पुगेका ले मोन्दले जनाएको छ । अल–कायदाका उत्तर अफ्रिकाका प्रमुखको अन्तर्वार्ता प्रसारण गरेपछि गत सोमबार बुर्किना फासोको सरकारले फ्रान्स २४ न्युज च्यानलको सबै प्रसारण स्थगन गरेको थियो । गत डिसेम्बरमा रेडियो फ्रान्स इन्टरनेसनल प्रति पनि उसले प्रतिबन्ध लगाएको थियो ।

गत वर्ष दुई पटक विद्रोहको सामना गरेको बुर्किना फासो छिमेकी मालीबाट फैलिएको जिहादी विद्रोहविरुद्ध लडिरहेको छ । सन् २०१५ देखि मालीका विद्रोहीले बुर्किना फासोलाई आक्रमणको निशान बनाइरहेका छन् ।