प्रतिकात्मक तस्वीर

देश/प्रदेश

मधेस सहिद लोकमार्गको निर्माण प्रक्रिया सुरु

By खबरहब

April 02, 2023

काठमाडौँ- मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

जनकपुरधाममा मन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गरी कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि एलाइनमेन्ट रुट रेखाङ्कन सार्वजानिक गर्दै छिट्टै मन्त्रीपरिषदबाट पारित गरेर टेण्डर प्रक्रियामा लैजाने बताए । मन्त्री यादवले कसैले हिम्मत नगरेसम्म नहुने भएकाले आफूले मधेसको हितका लागि यो निर्माण प्रक्रिया अगाडि बढाउन लागेको दाबी गरे ।

विगत दुई आर्थिक वर्षदेखि स्वीकृति पाएर पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो लोकमार्गअन्तर्गत सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोतरीमा २३ किलोमिटर कालापत्रे सडक बन्नेछ ।

दुई लेनको सो सडक सर्लाहीमा ५१, रौतहट २०, बारा ३६ दशमलव ८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे बन्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि रु दुई करोड ५० लाखको लागतमा मार्गको डिपीआर तयार गर्ने प्रक्रियाको थालनी हुने मन्त्रालयले जनाएको छ ।