औषधी/उपचार

गर्मीमा डेंगुबाट बच्ने उपाय

By खबरहब

May 02, 2023

गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालेका छन्। लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्छ। डेंगु आफैमा सुरुवा रोग होइन। तर यो लामखुट्टेको टोकाइबाट एकबाट अर्कोमा सर्ने र फैलने गर्छ। डेंगु, एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर संक्रमण हुने हुन्छ। एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिनड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुनसक्छ। यो वर्ष भर्खर गर्मी सुरु भइसकेको छ र डेंगु संक्रमणबाट कसरी बाच्ने ? यसै विषयमा आधारित रहेर खबरहबका लागि सरुवा रोग विशेषज्ञ डा. प्रशान्त त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंश :

के हो त डेंगु ? डेंगु संक्रमण भनेको एक प्रकारको लामखुट्टे जसलाई अंग्रेजीमा (टाइगर मस्क्युटो) वा बाघे लामखुट्टे भनिन्छ। त्यस्तो लामखुट्टेको टोकाइबाट डेंगु एक बिरामी व्यक्तिबाट अर्को स्वस्थ मानिसमा सर्छ। यस्तो लामखुट्टे दिउँसो सक्रिय हुने र राती निष्क्रिय हुने हुनाले यो धेरैमा सर्ने गरेको पाइएको छ। त्यसैले डेंगुका बिरामीलाइ दिउँसो पनि झुलभित्र नै राख्नु पर्दछ। अरु संक्रमण नभएका मानिस पनि पुरा बाहुला भएको कपडा वा पुरै शरीर ढाकिने खालका कपडा लगाएर नै बस्नु पर्दछ। यो एउटा भाइरसको रोग भएकोले यहि भाइरस मार्ने नै भन्ने कुनै औषधि छैन। यो बाट बच्ने पहिलो उपाय र रोगकाथाम भनेको नै लामखुट्टे नियन्त्रण गरेर आफ्नो शरीरको हेरचाह गर्नु हो।

डेंगु संक्रमणका लक्षण के के हुन् ? सामान्यतया डेंगुको मुख्य लक्षण भनेको त एक्कासी उच्च ज्वरो आउनु नै हो। त्यसैले यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ, शरीरमा बिमिरा आउने, अत्यधिक टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने लगायतका लक्षण देखा पर्छन्।

डेंगु फैलाउने लामखुट्टे कसरी चिन्ने ? यस्तो लामखुट्टे अरु भन्दा फरक हुन्छ। अरुको तुलनामा यसको फरकपना भनेको यो लामखुट्टे अरु भन्दा केही सानो हुन्छ। यस्तो लामखुट्टेको शरीररमा सानासाना टिकटिक थोप्ला जस्तो भएको हुन्छ। यस्तो लामखुट्टे धेरैमाथि र धेरै टाढासम्म जान सक्दैन। यो लामखुट्टे बिहान घाम उदाउने समय साँझ अस्ताउने समयमा बढी सक्रिय हुन्छ। त्यो समयमा नै यसले मानिसलाई टोक्ने र डेंगु फैलाउने सम्भावना बढी हुन्छ।

यो लामखुट्टे कहाँ बस्छ ? यो लामखुट्टे जहाँ पनि बस्छ। तर पनि यसको प्रजननको लागि कुनै ठाउमा पानी जम्नु पर्दछ। यसले कतै थोरै पानी जम्मा भएको ठाउँ छ भने त्यहाँ प्रजनन गर्न सक्छ। त्यसैले घरवरिपरी गमलामा पानी जम्न दिनु हुँदैन। हाम्रो घरको वरिपरि पानी जम्न दिनु हुँदैन। पानीका ड्रम राम्ररी छोपेर राख्नुपर्छ।

डेंगु सङ्क्रमण भएपछि खानपानमा कसरी ध्यान दिने ? त्यो रोगलागेमा शरीरले जित्नको लागि पोसिलो आहार बिहारको आवश्यक पर्छ। जस्तो ः भिटामिन सी भिटामिन डी, माछा मासुसँगै भात, दाल फलफूल खानु पर्दछ। यसले बिरामीलाई धेरै कमजोर र शिथिल बनाउँछ। त्यस्तो हुदाँ कुनै पनि दुखाई मार्ने वा पेनकिलर आफैले किनेर खानु हुँदैन। त्यसले थप समस्या निम्त्याउन सक्छ। धेरै मात्रामा पौष्टिक तत्त्व र झोलिलो खोकुरा खाने गर्दा राम्रो हुन्छ।

कस्तो अवस्थामा घरमै उपचार गर्ने र कुन समयमा अस्पताल जाने ? धेरै नै टाउको दुख्यो र शरीरमा बिमिरा आयो भने तुरुन्त अस्पतालमा गएर डेंगुको परीक्षण गर्नुपर्छ। परीक्षण गराएपछि डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने, उपयुक्त मात्रामा व्यायाम गर्ने। तर बिरामीलाई तारनतार बान्ता हुने, धेरै पेट दुख्ने, कमजोरी भएर प्रेसर घट्यो भने भर्ना गरेर नै उपचार गर्नुपर्छ। कोही कोही बिरामीमा सेतो रगत कम भयो भने आईसीयूसमा नै लैजानु पर्दछ।

बच्ने उपायहरु के के हुन् त ? सबै भन्दा पहिला लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। त्यसैले लामखुट्टे आउने कुराहरु बन्द गर्नुपर्यो। जस्तो पानी जमेको स्थानमा फुल पार्ने गर्दछ त्यसैले पानी जम्न नदिनु राम्रो हुन्छ। कुलरको पानी पनि प्रत्येक हप्ता मट्टितेल हालेर सफा गर्ने, दिउँसो टोक्ने भएकाले पुरा बाउला भएको वा शरीर ढाकिने लुगा लगाउने, सुत्दा अनिवार्य झुलको प्रयोग गर्ने गर्नुपर्छ। घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउने, लामखुट्टेको टोकाइबाट बच्न पाइने स्प्रे, इलेक्ट्रिक उपकरण र मल्हम लगाउने, आफ्ने घर समुदाय वरपर राम्ररी सरसफाइ गर्ने। रोग लागेपछि उपचार भन्दा पहिला त हामीले रोग लाग्न नै दिनु हुँदैन। यदि रोग लागि हाल्यो भने पनि अस्पताल गएर डाक्टरलाई देखाएर चिकित्सकको निगरानीमा बस्नुपर्छ।