सामाजिक सञ्जाल प्रयोगको व्यापकतासँगै यसले आम सञ्चारलाई विस्थापित गर्दैछ। विशेष गरेर सूचना र सञ्चारका निमित्त अब मानिस सामाजिक सञ्जालमा भर पर्दैनन् भन्ने गरिन्छ। धारणा निर्माणका निमित्त पनि मूलधारे मिडिया भन्दा यस्तै सामाजिक सञ्जालमा मानिस भर पर्ने गरेको पाइन्छ। आखिर खास कुरा के हो ? यस विषयमा आधारित रहेर नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश:
आम सञ्चारलाई सामाजिक सञ्जालले विस्थापित गर्दै गएको हो ? हरेक पटक नयाँ कुरा आइरहँदा मानिसलाई नयाँले सबै पुरानालाई सक्छ भन्ने लाग्छ। जतिखेर किताब छापिन थालेको हो त्यस समयमा मान्छे धेरै आतंकित भएका थिए। किताबमा त सबै नकारात्मक कुरा छापिने, छिटो रूपमा पनि छापिने भयो भने सोचको विकास भएको थियो। अहिलेसम्म एउटा माध्यमले अर्को माध्यमलाई विस्थापित गरेको छैन। धेरैथोर होला तर निरन्तर चलेको नै हुन्छ। नयाँ माध्यम आउँदा सबैलाई उत्साह हुन्छ। त्यसको नयाँ प्रभाव मात्र हो। केही विषय फरक परेको हुनसक्छ तर विस्थापित नै हुने भने होइन। सामान्य असर देखिनुलाई विस्थापित भएको भन्न मिल्दैन।
सामाजिक सञ्जालले मुलधारका मिडियाको सान्दर्भिकता विस्तारै गुमेको जस्तो भएको होइन? सामाजिक सञ्जाल भनेको सबै व्यक्तिले प्रयोग गर्ने हो। संस्थागत रूपमा जुन परम्परागत पत्रिका हो। त्यसमा केही परम्परागत अभ्यास रहेका छन्। ती परम्परागत अभ्यासले गर्दा सूचना सही ढंगले आउँछ र त्यसमा कुनै कुरा गलत नै भएमा सच्याउने गुन्जाअएस रहन्छ। सञ्जालमा मात्र भर परेमा हामीले गलत सूचना मात्र पाउन सक्ने सम्भावना हुन्छ।
सञ्चार माध्यमको वृद्धिले कत्तिको सहज भएको छ ? यसको सहायताले सूचना पाउन अहिले निकै सजिलो भएको छ। पहिला तीन दिनसम्म पनि कुरेर बस्नु पर्ने अवस्था थियो। अहिले सूचनाको जङ्गलमा मान्छे छन्। सही सूचना होला, गलत सूचना होला के कस्तो सूचना होला भन्ने भान सबैमा रहेको छ। त्यो जङ्गलबाट निकाल्ने भनेको पत्रकारिताका अभ्यासकर्ताले नै हो। माध्यमहरू महत्वपूर्ण होइन पत्रकारिताको प्याल्याटफर्म फरक हुन सक्छन्। पत्रकारिताको मुख्य तत्त्व कसले के दिनुपर्ने त्यो कुरा परिवर्तन हुँदैन। त्यसले नै बचाएर अगाडि लैजाने हो। समाचारको परम्परागत ढाँचा तथा जसरी समाजलाई बुझाउनुपर्ने हो।
मुलधारका मिडियाप्रतिको विश्वासमा गिरावट आएको हो त ? सञ्चार माध्यमले आफूलाई स्थापित गर्न नयाँ रणनीति तयार गर्नुपर्ने बेला आएको मात्र हो। यसमा भएका समस्या र कमजोरीको बारेमा परिवर्तन गर्न सक्नुपर्छ। अहिले धेरै मान्छे बोल्न सक्ने भएका छन्। धेरै मान्छेले गलत कुरा नै बोले पनि सही मान्ने स्थिति आएको छ। त्यसले समाजलाई नकारात्मक रूपमा लैजान सक्ने सम्भावना रहेको छ। समुदायलाई बुझाउन भने राम्रो पत्रकारिता अध्ययन गरेको मान्छेको आवश्यक हुन्छ। जसले आम जनतामार्फत सकारात्मक सूचनाको प्रचार गर्न सकोस्।
सामाजिक सञ्जालमा आएको कुनै पोस्ट तथा युट्युबले अनौपचारिक रूपमा कसैले राखी दिएको अन्तर्वार्ता र अन्य सामग्री र मूलधारे भन्ने मिडियाले राखेको उस्तैउस्तै देखिएको छ ? हुनसक्छ। तर अब पाठक पनि आफै सजग हुनुपर्छ। सञ्चार माध्यमले सबै कुरा एकै पटक उठाउन सक्दैन। विश्वसनीय सही सूचना दिन र पाउन सक्ने कुरालाई आधार मान्ने हो। जुन कार्यान्वयन हुन सक्नुपर्ने हुन्छ।
सबै सञ्चार माध्यम राम्रो भएमा दर्शक र पाठकलाई प्रभाव पार्न सक्छन् ? कस्तो समाचार दिइन्छ भन्ने मुख्य माध्यम हो। अनलाइनलाई बढी मान्यता दिएको पाइन्छ। त्यसले समाजको स्वरूपमा विकास गराएको छ। सबै माध्यम नकारात्मक नरहेको र सबै माध्यम सही भन्न पनि नसकिने दोधारे स्थिति रहेको छ।
अब पत्रिका र टेलिभिजन किन चलाई रहने यसको आवश्यकता छ र ? कुनै विषयवस्तुलाई समय सन्दर्भले नै सान्दर्भिक बनाउँछ र असान्दर्भिक पनि बनाउँछ। हिजो संगीत सुन्नको लागि क्यासेट प्लेयर राखिन्थ्यो। त्यो अहिले हराएको छ। यस्ता धेरै चिजहरू समय सन्दर्भमा हराउन सक्छन्। पत्रकारितालाई हामीले कसरी अगाडि बढाएका छौँ। त्यो सोच्नु आवश्यक रहेको छ। आज फेरि पत्रिका छाप्ने प्रेस स्थापना नै हुन छाड्यो अखबार दर्ता हुन नै छाडेका छन्। राम्रो पत्रकारिता चाहिन अहिलेका पत्रकार एकदमै सहनशील भएर लाग्न सक्नुपर्छ। कामलाई पूजा मानेर अगाडि बढ्नुपर्ने हुन्छ। गहिरो महसुस सबैमा भएको छ। त्यसमा पत्रकारबाट पीडित मान्छेको संख्या धेरै रहेछ। विस्तारै मान्छेले सिक्दै जान्छन्। हामी आफै गलत भएमा हामी सुध्रिने हो। पहिला आफूलाई सुधारेर मात्र सबैलाई परिवर्तन गर्न सकिन्छ।
किन सामाजिक सञ्जालले विश्वसनीयता ग्रहण गर्ने तर आम सञ्चारका पत्रकारले विश्वास गुमाउँदै गएका हुन् ? हरेक व्यक्तिले आ–आफूले जवाफदेही हुने हो भने आफूले गरेको पत्रकारिताको बारेमा जहाँ गएर पनि बोल्न र भन्न सक्नुपर्छ। जब नियमन ठिक हुन्छ त्यहाँ आफै सुधार हुन्छ। तर सबैलाई एउटै भाँडोमा हालेर आफू मात्र अगाडि बढ्ने प्रक्रिया रहेको छ। त्यो एउटै भाँडामा हाल्न मिल्दैन। पत्रकारले अरूको लागि निडर भएर अगाडि बढ्नुपर्ने हुन्छ। पत्रकारले गर्ने सकारात्मक कार्य नै अति आवश्यक रहेको छ। काम गर्ने तरिकाले पनि यसलाई सुधार गर्नसक्छ।
शैली र भाषा फरक भएर त्यसमा केही खतरा भएको छैन ? राम्रो पत्रकारिता त्यतिखेर मात्र राम्रो हुँदै जान्छ जति खेर पाठक नै पैसा तिर्न तयार छन्। एउटा मान्छे चुरोटको लागि पैसा हाल्छ जुन सय रुपैयाँ भन्दा बढी पर्छ। तर १० रुपैयाँको पत्रिका किन्न सक्दैनन् भने हामीले राम्रो पत्रकारिता खोज्छौँ। जबसम्म पाठकले पत्रकारितामा सहयोग गर्दैन तबसम्म अरू बाह्य प्रभावलाई रोक्न गाह्रो हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति: कुसुम गौतम