बहुचर्चित उपनिर्वाचन सम्पन्न भएर त्यसको कारण र परिणामबारे बहस प्रारम्भ भएको छ। रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक निर्वाचित हुँदा देशमा वैकल्पिक राजनीतिक परिदृश्य बन्न लागेको चर्चा समेत उठान भएको देखिन्छ। युवालाई यस उपनिर्वाचनबाट विशेष उत्साह थपिएको देखिन्छ भने नेपालको राजनीतिमा स्थापित प्रमुख दलका लागि मनोवैज्ञानिक दबाब सिर्जित भएको छ।
अहिलेको उपनिर्वाचन तनहुँ, चितवन र बारा जिल्लाबाट भएको छ। प्रत्येक निर्वाचन क्षेत्रको पद रिक्त हुने फरकफरक कारणसमेत छन्। मङ्सिरको आमनिर्वाचनमा तनहुँबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि उक्त ठाउँ रिक्त भएको थियो। चितवनबाट निर्वाचित सांसद रवि लामिछानेलाई नागरिकता विवादको कारण सर्वोच्च अदालतले पदमुक्त गरेपछि सो ठाउँ रिक्त भएको थियो । बाराबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति पद मा निर्वाचित भएपछि सो ठाउँ पनि रिक्त भएको थियो।
यसरी फरक फरक परिस्थिति र कारणबाट यी तीन वटा स्थान सांसदविहीन बनेका थिए । जसलाई संवैधानिक कानुन अनुसार पदपूर्ति गरिएको छ। जसअनुसार स्वर्णिम वाग्ले तनहुँ–१ बाट ३४ हजार ९१९ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसमा जोडिएका वाग्ले एक वर्ष पनि नपुगेको नयाँ दलबाट उम्मेदवार बनेर आफ्नो प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार मतले पछि पार्न सफल भएका हुन्।
चितवन–२ मा भएको उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मङ्सिरको निर्वाचनमा आफूले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्।
नागरिकता विवादका कारण पदमुक्त भएर पाँच महिनापछि उपनिर्वाचन हुँदा लामिछानेलाई ५४ हजार १७६ मत प्राप्त भएको छ। यसपटक उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी उम्मेदवारभन्दा लगभग ४२ हजार भन्दा बढी मत ल्याएका छन्।
बाराऔ२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत प्राप्त गरी निर्वाचित भएका छन्। यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पराजित गरेको छ। यसपटक जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई २३ हजार ३३४ मत प्राप्त भएको थियो भने नेकपा (एमाले) का पुरुषोत्तम पौडेललाई १० हजार २१६ मत प्राप्त भएको छ। यसैगरी चर्चित पूर्व प्रहरी अधिकृत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेललाई जम्मा २ हजार ८२९ मत प्राप्त भयो। उपेन्द्र यादव पाँच हजार भन्दा बढी मतान्तरबाट निर्वाचित भए पनि जनमत पार्टीको मत मङ्सिरको निर्वाचन भन्दा पाँच दोब्बर वृद्धि भएको देखिन्छ। त्यसबखत जनमत पार्टीलाई लगभग २७ सय मत प्राप्त भएको थियो।
उपनिर्वाचनबाट प्राप्त परिणामलाई आधार मानेर अति उत्साहजनक टिप्पणीसमेत भइरहेका छन्। कतिपयको बुझाइमा यसलाई रवि लामिछाने र उनको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनलहर मानिएको छ । तर तथ्याङ्क आधारित विश्लेषण गर्दा त्यस प्रकारको परिस्थितिलाई पूर्ण समर्थन हुँदैन। तीन ठाउँबाट निर्वाचनमा भाग लिएर दुई ठाउँबाट निर्वाचित रास्वपाले बाराबाट जमानत जोगाउन सकेन। यसलाई कुन प्रकारको लहर मान्ने। सामाजिक सञ्जालका टिप्पणीकर्ताले बाराको जनतालाई नै सत्तोसराप दिँदै मूर्ख र लोभीसम्मको बिल्ला भिराइदिए।
उपनिर्वाचनको केही साताअघि मात्र नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट निर्वाचित हुने सौभाग्य प्राप्त भएको छ । उनले पाएको मतलाई विश्लेषण गर्दा बडो रोचक तथ्य देख्न सकिन्छ। गत मङ्सिरको आमनिर्वाचनमा त्यस क्षेत्रबाट एमालेलाई १९ हजार भन्दा बढी मत प्राप्त भएको थियो । जबकी मात्र पाँच महिना पछि भएको उपनिर्वाचनमा उनको प्रभावशाली उम्मेदवारलाई आठ हजारको हाराहारीमा मत प्राप्त भएको छ। एमालेबाट लगभग ११ हजार मत स्वर्णिम वाग्लेलाई स्थानान्तरित भएको देखिन्छ।
एमाले एउटा क्याडर बेस्ड पार्टी रहेको मानिन्छ र बिना निर्देशन यसको मत हल्लिने गरेको छैन। गत मङ्सिरको निर्वाचनमा एमाले र जसपाबीच साझेदारी भएर बारा-२ मा तत्कालीन जसपा उम्मेदवार रामसहायप्रसाद यादवलाई सहयोग गरिएको भए पनि समानुपातिकतर्फ एमालेलाई ९ हजार भन्दा बढी मत प्राप्त भएको थियो।
यसपटक पनि बारा–२ को उपनिर्वाचनमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई १० हजार २१६ मत प्राप्त भएको छ अर्थात् एमालेको मत उस्तै रहेको देखिन्छ। यसपटक मात्र नभई विगतका अन्य निर्वाचनमा पनि एमालेको मत अक्षुण रहने गरेको तथ्याङ्क छ । जसलाई नेतृत्वबाट निर्देशन प्राप्त भए अनुसार मात्र स्थानान्तरण गराउन सम्भव हुन्छ।
तनहुँको उपनिर्वाचनमा एमालेबाट ११ हजार भन्दा बढी मत हराउनुलाई सहज मान्न सकिन्न। यसमा निस्सन्देह राजनीतिक निर्णय भएको देखिन्छ। एमालेबाट लिइएको यसप्रकारका चलाखीपूर्ण रणनीति पछाडि दुई वटा कारण हुनसक्छ। तनहुँको उपनिर्वाचनमा कांग्रेस पार्टीबाट महामन्त्री गगन थापालाई कमान्डर बनाइएको थियो। त्यहाँबाट पराजय भएपछि त्यसलाई गगनको पराजय भनेर प्रचारित पनि गरियो। यसलाई कांग्रेस पार्टीभित्र सभापति शेरबहादुर देउवाको लागि एमालेद्वारा राजनीतिक सहयोगको रूपमा विश्लेषण गर्न सकिन्छ।
यसैगरी कांग्रेस त्यागेर रास्वपातर्फ आकर्षित हुने युवालाई सहज निर्वाचित हुनसक्ने प्रलोभन देखाई आफ्नो प्रमुख प्रतिद्वन्द्वी दललाई कमजोर बनाउन सकिने पनि हो। एमालेका लागि आज पनि नेपाली कांग्रेस नै प्रमुख प्रतिद्वन्द्वी हो। विगतका निर्वाचनको तथ्याङ्क आधारित विश्लेषण गर्दा कांग्रेसलाई ३३ र एमालेलाई सरदर २८ प्रतिशत मत प्राप्त हुँदै आएको देखिन्छ। पछिल्लो संसदीय निर्वाचनमा एमाले र माओवादीबीच सहयोग भएको हुँदा दुवै दलको संयुक्त मत प्रतिशत लगभग ४२ प्रतिशतको हाराहारीमा पुगेकोले नेकपालाई सबैभन्दा ठूलो दल बन्ने अवसर प्राप्त भएको थियो । जुन अलग अलग भएपछि स्वतः समाप्त भइसकेको छ।
यसपटक पनि एमालेलाई पुरानो मत प्रतिशत नै प्राप्त भएको देखिन्छ र यही कारणबाट एमाले संसद्को दोस्रो ठूलो दलमा सीमित हुनु परेको छ। कांग्रेसको मत प्रतिशत वृद्धि नभए पनि पहिलो स्थान सहजतापूर्वक प्राप्त भएको छ। अर्थात तत्कालको लागि कांग्रेस पार्टीबाट मत स्थानान्तरित नभएसम्म एमालेलाई संसद्भित्र प्रथम स्थान प्राप्त हुने सम्भावना छैन र यसैकारण पार्टी नेतृत्वबाट रणनीतिक लक्ष्यसहित आफ्नो ११ हजार मतलाई स्वर्णिम वाग्लेतर्फ स्थानान्तरित गराइएको छ।
यस अतिरिक्त वाग्लेलाई गोविन्दराज जोशीको ६ हजार भन्दा बढी मत र राप्रपालगायतको समर्थनसमेत प्राप्त भएकोले अप्रत्याशित परिणाम देखाएको हो। सँगसँगै उनी नामांकनको पूर्व सन्ध्यासम्म कांग्रेस पार्टीभित्र नै रहेको तथा गगन र विश्वप्रकाश शर्मा जस्तै प्रतिभाशाली युवा मानिएकोले कांग्रेसबाट पनि पाँच हजार मत स्थानान्तरित भएको छ।
यसरी तथ्याङ्क आधारित विश्लेषण गर्दा रवि लामिछानेको लोकप्रियताका साथै एमाले, गोविन्दराज जोशी, राप्रपा र कांग्रेस पार्टीबाट समेत मत सरेर वा सारिएकोले स्वर्णिम वाग्लेलाई निर्वाचित हुने सौभाग्य प्राप्त भएको देखिन्छ। रास्वपाको लहर मात्र हुने भए त बाराबाट जमानत जफत हुने नै थिएन। चितवनको उपनिर्वाचनलाई निस्सन्देह रवि लामिछाने प्रतिको जनलहर मान्नुपर्छ। सर्वोच्च अदालतद्वारा अयोग्य घोषित गरेर उनलाई पदमुक्त गर्ने निर्णयलाई त्यहाँको आम जनमानसबाट अस्वीकार गरिएको छ।
आम जनताको बुझाई अनुसार रविद्वारा भएको नागरिकता सम्बन्धित त्रुटीलाई अतिरञ्जित गरिएको मान्यो। जनताले यसबारे प्रश्न तेर्स्याउँदै सोही प्रकृतिको अन्य मुद्दालाई सम्बोधन नगरी मात्र रवि लामिछानेलाई पदमुक्त गर्नु नियोजित रहेको भनियो र मतपत्र मार्फत आफ्नो जवाफ फर्काएर रास्वपा सभापतिलाई भारी बहुमतबाट विजयी हुने अवसर जुट्यो। यो व्यापक आक्रोश र वितृष्णा विरुद्धको जनलहर थियो तर बाराको उपनिर्वाचनमा मुद्दा नै फरक रहेको देखिन्छ।
बारा–२ को उपनिर्वाचन त्यहाँबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त पदपूर्ति हेतु भएको थियो। मङ्सिरको आमनिर्वाचनमा सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादवले सुरक्षित सिटको खोजी गर्ने क्रममा स्वजातीय बाहुल्य रहेको बारा–२ लाई लक्षित गरेर उक्त ठाउँबाट निर्वाचित हुने सोचेर रामसहायलाई उपराष्ट्रपति पदमा पठाएको आरोप पनि लाग्ने गरेको देखिन्छ। जे होस, चितवन वा तनहुँ जस्तै घण्टीको पक्ष वा विपक्षको निर्वाचन भन्दा पनि बारामा बिल्कुल फरक मुद्दा आधारित निर्वाचन थियो।
मधेस राजनीतिमा पहिचान र सम्मानको मुद्दालाई अझै पनि प्राथमिक विषय मानिन्छ। जसअनुसार पहिचानको विषय केही हदसम्म स्वीकृत भएको देखिन्छ। अहिले मधेश प्रदेशमा कुनै पनि दलका लागि मधेशी अनुहारलाई अगाडि राखेर मात्र भूमिका खोज्नु बाध्यकारी अवस्था हो। यसलाई उल्लंघन गर्दा अस्वीकृत हुनसक्ने अधिकतम सम्भावना हुन्छ। यस अतिरिक्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट घोषित सङ्घीय शासन प्रणाली विपरीतका नीति पनि मधेसभित्र स्वीकार हुँदैन। त्यसकारण रास्वपाबाट दिइएको गैर मधेशी उम्मेदवार र सङ्घीयता विरोधी राष्ट्रवादलाई मधेसका जनताबाट अस्वीकार गर्दै जमानत जफत गराइएको छ।
यसरी तथ्याङ्क आधारित विश्लेषण गर्दा उपनिर्वाचनको मतपरिणाम र सम्भावित भावी मार्गचित्र सोचे अनुरूप देखिँदैन। यस परिणामलाई प्रमुख दलका लागि चेतावनीसम्म मान्न सकिन्छ तर अबको मार्गचित्र रास्वपा नेता तथा सांसदबाट प्रदर्शित व्यवहार द्वारा निर्धारित हुनेछ। जनताले सशक्त र रचनात्मक प्रतिपक्ष खोजेको देखिन्छ तर यदि रास्वपाद्वारा मन्त्री बनेर मात्र परिणाम दिन सकिन्छ जस्ता तर्क वा बहाना देखाएर सत्तालिप्सा प्रदर्शन भयो भने यिनको भविष्य पनि अरु जस्तै नहोला भन्न सकिन्न।