सांकेतिक तस्बिर

अपराध

विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ

By खबरहब

May 02, 2023

काठमाडौँ– देशका विभिन्न स्थानबाट चारजना लागूऔषधसहित पक्राउ परेका  छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ग्रामसहित कैलाश गाउँपालिका-५ गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

भैंसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुरको बेदकोट नगरपालिका-९ सुन्दरपुर बस्ने २९ वर्षीय प्रकाश चन्द समेत दुईजनालाई अवैध लागूऔषध खैरो हेरोइन करिब १ ग्राम ३७ मिलिग्राम र १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले  प्रकाशको कोठाबाट उक्त खैरो हेरोइन र गोलीसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २७ वर्षीय किरण चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।