चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि युवाले दबाब दिन थालेका छन् । धुलाम्मे सडकका कारण हुने वायु प्रदूषणले निकुञ्जका जनावरलाई हानी गरेको भन्दै युवाहरूले धुलोरहित सडक निर्माणका लागि सम्बन्धित पक्षलाई दबाब दिन थालिएको स्थानीय नेत्रप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार समृद्धिका लागि युवा अभियान माडीको नेतृत्वमा सोमबार मोटरसाइकल र्यालीसमेत निकालेको थियो । समृद्धिका लागि युवा अभियान माडी र माडी जेसीजको सहकार्यमा माडीको वसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म र्याली निकालिएको उनले जानकारी दिए ।
प्रदर्शनको क्रममा युवाहरूले निकुञ्जका जनावरहरुले पनि धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर र प्लेकार्ड पनि बोकेका थिए । ‘वायु प्रदूषणले जनावरलाई पनि हानी पुर्याउँछ, सँगै लडौं’, ‘वन्यजन्तु र मानव दुवैको हितका लागि धुलोरहित बाटो आजको आवश्यकता’ जस्ता लेखिएका प्लेकार्डसहित युवाले र्याली निकालिएको माडीका अभियन्ता हरि लम्सालले जानकारी दिए ।