राजनीति

नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न नेमकिपाको माग

By खबरहब

June 02, 2023

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज गर्न माग गरेको छ । 

पार्टी सचिव प्रेम सुवालले प्रेस विज्ञप्तिमार्फत केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै नागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध एवं भत्सर्ना गरेका हुन् ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले देशघाती नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर तयार गरिएको भारतको नक्साको विरोध गरिएको वक्तव्यमा उल्लेख छ । 

नेमकिपाले भारतको संसद भवनमा राखिएको नक्सा नेपालको सार्वभौमिकता र भूअखण्डता माथि भारतीय विस्तारवादको हस्तक्षेप भएको जनाएको छ ।