सांकेतिक तस्वीर ।

अपराध

लमजुङ कारागारबाट फरार दुवै जना पक्राउ

By खबरहब

June 02, 2023

लमजुङ – लमजुङ कारागारबाट रातारात फरार भएका दुवै जना कैदी पक्राउ परेका छन्। फरार मध्यका जबरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो।

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा-३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। गुरुङ ठगी मुद्दामा पुर्पक्षका लागी कारागार चलान भएका थिए।  दुबैलाई कानुन अनुसार थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २ कैदी फरार भएका थिए। कारागारमा हाल ८८ जना कैद बन्दी छन्। जसमध्ये ६ जना महिला र ८२ जना पुरुष छन्।