तस्बिर :गेटी इमेज

अन्तर्राष्ट्रिय

सेनेगल झडपमा नौ जनाको मृत्यु

By खबरहब

June 02, 2023

डाकार- सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको मृत्यु भएको छ ।

अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडपमा परी नौ जनाले ज्यान गुमाएकाे गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीबार अदालतको फैसला सार्वजनिक हुने बित्तीकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएका थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको,घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीबारको फैसला पछि प्रहरी र प्रदर्शनकारीहरू बीच झडप मात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो,सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको मृत्यु भएको गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा भनेका छन् ।

दुई जना प्रहरी अधिकारीले एएफपीलाई आफ्नो नाम नछाप्ने सर्तमा जिगुइन्चोरमा भएको प्रदर्शनमा कम्तीमा तीन जनाको मृत्यु भएको र राजधानीमा युवा प्रदर्शनकारीले एक प्रहरीलाई ढुङ्गाले हानेर मारेको बताए ।

बलात्कार अभियोगमा अदालतले उनलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले जनतालाई सडकमा आउन आह्वान गरेको थियो ।