देश/प्रदेश

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध, यात्रुलाई सास्ती

By खबरहब

July 02, 2023

चितवन– नारायणगढ–मुग्लिन सडकमा आज पनि आवागमन अवरुद्ध भएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति  पहिरो खसेपछि सडक दुईतर्फी रूपमै अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

पहिरोमा विद्युत्को तार समेत रहेकाले तारहरू हटाए पछि मात्रै पहिरो पन्छाउने काम हुने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो हटाउने उपकरण तयारी अवस्था राखिएको उनको भनाइ छ ।

सोही स्थानमा गत बिहीबारदेखि पटकपटक पहिरो खस्दा सडक आवागमन अवरुद्ध हुँदै आएको छ । 

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व–पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।