अन्तर्राष्ट्रिय

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा १० जनाको मृत्यु

By खबरहब

October 02, 2023

मेक्सिको सिटी– दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ । अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक नाबालिगसहित १० महिला रहेका छन् भने घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।

सो ट्रकले मेक्सिकोको दक्षिणी राज्य चियापासको पिज्जियापान–टोनाला राजमार्गमा अवैधानिक रूपमा २७ क्युबाली नागरिकलाई बोकेको बताइएको छ । 

चालकले ट्रकलाई तीव्र गतिमा चलाउँदा अचानक नियन्त्रण गुमेपछि सो दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

मध्य अमेरिका र क्यारेबियनबाट आएका आप्रवासीहरू अमेरिका पुग्ने आशामा कहिलेकाहीँ ट्रक र ट्रेलरमा मेक्सिको हुँदै यात्रा गर्छन् ।

यसअघि सन् २०२१ मा ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यमा आप्रवासी बोकेको ट्रक पल्टिँदा ५५ जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।