अहिले नेपालको राजनीति निराशावादी शैलीबाट गुज्रिराखेको छ। नेपालको राष्ट्रिय राजनीति, राजनीतिक पार्टीप्रति जनस्तरबाट आक्रोश र असन्तुष्टि बढिरहेको छ। समग्र सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्ने र जस्तोसुकै लचिलो बन्ने राजनीतिक चरित्रको कारण आम नागरिकमा निराशा छाएको देखिन्छ। कमजोर बनेको नेपालको राजनीतिक प्रणालीलाई कसरी विश्वासिलो बनाउन सकिन्छ ? राजनीति सुधार गर्ने कुनै विकल्प बाँकी छन् ? यो राजनीतिक प्रणालीमाथिको विश्वासलाई कसरी कायम गर्न सकिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
राजनीतिक पार्टीप्रति अविश्वास, आक्रोश र वितृष्णा बढ्यो भनिरहँदा दल किन सुध्रिने बाटोमा अगाडि बढेनन् ? दलहरूले राजनीतिक व्यवस्थापन गर्न सकिरहेका छैनन्। विधिमा नहिँडेकाले उनीहरुको कथनी र करणीमा फरक परिरहेको छ। दलहरुले जे भनिरहेका छन् त्यो व्यवहारमा देखिएको छैन। नेताका कुरा मान्छेले अब सुन्न चाहेका छैनन्। राजनीतिमाथि हिजोको जस्तो विश्वास छैन। नागरिक राजनीतिप्रति अविश्वास र आशंका गरिराखेका छन्।
हाम्रा हरेक आन्दोलन, विद्रोह क्रान्तिपछि समाज र व्यक्तिमा ठुलो महत्त्वकांक्षा जागृत भएको हुन्छ। त्यो महत्वकांक्षा र आवश्यकताको व्यवस्थापन गर्न राज्य र राजनीतिक दल सक्षम देखिएका छैनन्। पछिल्लो कालखण्डमा शान्ति सम्झौता आफैमा तार्किक निष्कर्षमा नपुगेको अवस्था छ। अर्कोतर्फ सामाजिक द्वन्द्वहरू छन्। राजनीतिको प्रमुख समस्या महत्वकांक्षाको व्यवस्थापन हुन नसक्नु हो। अर्को राजनीतिक पार्टीहरू सिद्धान्त, विचार, मूल्य, मान्यता, आदर्श र प्रतिबद्धताबाट पर हटेर सुविधाको राजनीति गरेको भन्दै नागरिकले प्रश्न गरिराखेका छन्। यसमा दल सचेत बन्नुपर्छ।
लोकतान्त्रिक प्रणालीमा नागरिकले राज्यसँग राख्ने एक खालको अपेक्षा हुन्छ राज्यले नागरिकलाई गर्ने स्वाभाविक समान व्यवहार हुन्छ। यो दुवै हिसाबबाट हेर्दा नागरिक राज्य र राज्य सञ्चालकलाई हेयको भावबाट हेर्न थालेका छन्। आम रूपमा शंका छ र नागरिकले यसरी नेतृत्वप्रति अविश्वास गरिराख्दा यसको परिणाम के हुन्छ ? पहिलो कुरा आशङ्का बढ्नु र शङ्का हुनु लोकतन्त्रमा जागरूक नागरिकको पहिलो चिनारी हो। विश्वासका साथ शङ्का र शङ्काका साथमा विश्वास दुवै चिजले मानिसलाई एउटा भिडबाट फरक लिएर जान्छ। दोस्रो हरेक राजनीतिलाई व्यवस्थापन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि एकातर्फ हुन्छन्। अर्कोतर्फ राजनीतिक पार्टीमा राजनीतिक संस्कृति कति छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
अनेक असन्तुष्टिकै बिचबाट केही तत्त्वको विकास हुन्छ। त्यो तत्त्व भनेको जनतालाई एउटा भिडमा फेरेर एउटा आवेग र उत्तेजनामा लिएर जाने तर निकास नहुने खालको हुन्छ। समस्या जताततै छ तर जवाफ कसैसँग नहुने अवस्था छ। बिराम पत्ता नलागेसम्म उपचार सम्भव हुँदैन। खास नेपाली राजनीतिको बिराम कसैले पत्ता लगाउन सकेको देखिँदैन। जहिले पनि असन्तोषका साथमा एउटा सचेत समाज र त्यसको जागरूक वर्गले नेतृत्वदायक वर्गले समस्या देखेपछि समाधानको उपाय र निकास के हो भनेर दिनुपर्ने हुन्छ। तर नेपाली समाजमा त्यो ढंगको नेतृत्व देखिँदैन।
यस्तो बेलामा पार्टी मात्र होइन, हरेक सचेत नागरिकको साथ आवश्यक हुन्छ। सामाजिक नेतृत्वहरुले समस्याको किटान गरेर समाधान खोज्नुपर्छ। राजनीतिमा धमिलो पानीमा माछा मार्ने शक्तिको उदय हुन्छ। जसले आक्रोशलाई अगाडि बढाएर जनतालाई सोच्न सक्ने अथवा आलोचनात्मक सोच राख्न सक्ने भन्दा उसलाई भिडमा फेर्ने शक्तिहरू हुन्छन्। ती शक्तिहरू लोकप्रिय भए पनि उनीहरु राजनीतिमा निरन्तर अडिने आधारबिहीन हुन्छन्। अहिलेको प्रमुख समस्या भनेको यही हो।
समाजलाई त्यो खालको चेतना जागरण दिलाउने पछिल्लो १० वर्षको माओवादी जनयुद्ध हो। त्यो विद्रोहको क्रान्तिको रापबाट राजनीतिक सत्तामा गइसकेको अवस्थामा यो क्लाइमेक्स सिनमा पनि असफल भइदियो। किन माओवादीले आफ्नो औकात आफैं गुमायो ? हरेक विद्रोह क्रान्ति परिवर्तनपछि समाज र नेतृत्वमा महत्वकांक्षा हुन्छ। तर साधन श्रोत र परिस्थितिका कारण कतिपय महत्त्वकांक्षा पुरा हुन सक्दैनन्। एकातर्फ त्यसको अभाव र तनाव देशको नेतृत्वले नै खेपिराखेको हुन्छ। आशा र अपेक्षा अत्यन्तै ठुलो हुन्छ। तिनलाई व्यवस्थापन गर्न सकिराखेको हुँदैन। अर्कोतर्फ स्वयम् क्रान्ति नेतृत्व विद्रोहबाट आएको नेतृत्व तहसँग जनताले धेरै ठुलो राजनीतिक अपेक्षा राखेका हुन्छन्। त्यो अपेक्षा र आदर्श अनुसार काम नहुँदा नागरिक निराश बन्छन्।
नेपालको सन्दर्भमा विद्रोहबाट आएका शक्ति जनयुद्धबाट आएका शक्तिले त्यो चरित्रलाई आफै व्यक्तिगत रूपबाट साधन स्रोत र व्यवस्थापन गर्न नसकेको स्वाभाविक नै रह्यो। जो त्यसका नेतृत्वदायक संस्था थिए। तिनकै भूमिका शंकास्पद भएको आरोप लागेको र विभिन्न केशमा फसिरहेको देखेपछि स्वाभाविक रूपमा यी प्रश्नहरू आउँछन्।
राजनीतिक संस्कृतिको नै सबैभन्दा ठुलो अभाव भयो। हामीले शान्ति सम्झौताका आधार जो छन् तिनलाई अहिलेसम्म अन्तिम रुप दिन सकेको छैनौँ। एउटा प्रमुख आधार यो हो। दोस्रो कारण, नेतृत्व नै आफूले बोलेको आधारमा टिक्न नसक्नु हो।
राजनीतिक विद्रोह राजनीतिक क्रान्तिको बेला रोपिएको बिउँ नै गलत रहेछ ? होइन। कहिलेकाहीँ उद्देश्य ठिक हुँदा पनि त्यसका परिणाम गलत निस्किन सक्छन्। कहिले एक बेलाको राम्रो पक्षहरू अर्को समयमा नराम्रो हुनसक्छ। यसले नै परिणामलाई अहिले जुन तरिकाले पछाडि देखिरहेका छन्। यसलाई हेर्दा त यो प्रश्न स्वाभाविक जस्तो लाग्छ। त्यसले जुन निष्क्रिय नेपाली समाज थियो। त्यो अवस्था जागृत भयो। नेपालको ऐतिहासिक परिवर्तन राज्य सत्ताको दर्शन नै परिवर्तन हुनसक्यो। त्यसको आधार त त्यो गरिएका विद्रोह छन्। नेपाली समाजले अनुमोदन गरेको छ। चुनाव भएको छ, संविधान आएको छ। यो सबै भिडले गर्दा भएको होइन। त्यसलाई क्यारी आउट गर्नसक्ने जुन नेतृत्वले थाम्न सकेन। एउटै पार्टी १० औँ चिरामा टुक्रिएको छ। एउटै नेतृत्व कोही जेलमा कोही बाहिर छन्। त्यो नै राजनीतिलाई जीवनमा आत्मसाथ गर्न नसक्नु राजनीतिक संस्कारको विकासमा अवरोध पैदा हुँदा आएको छ। यसमा एउटा शक्ति मात्र जिम्मेवार छैन। त्यो सम्पूर्ण राज्यसत्ता नै जिम्मेवार छ।
एउटा कालखण्डमा सही ठानिएको नेतृत्वले त्यसभन्दा पछिका राजनीतिक घटनाक्रमलाई सही ढंगबाट विश्लेषण गर्न सकेन। त्यसको परिणाम असफल भएको हो ? एउटा मान्छेभित्र एकै पटक दसौं मान्छे सक्रिय हुन्छन्। हिजोको एक मान्छे परिवर्तित सन्दर्भमा त्यही मान्छे रही रहनसक्छ। संरचना÷शरीर त त्यही रहनसक्छ। त्यसका आचार विचार र व्यवहार अर्को समयमा फेरिन सक्छ। त्यो फेरिएको आदर्शलाई क्यारी आउट गर्न नसक्नुको परिणाम नै जीवन अनुसार व्यवहार हुननसक्नु हो। त्यसो हुँदा हिजोको व्यक्ति नै गलत भयो। राजनीतिक संस्कृतिको स्खलन नै आजको सबैभन्दा ठुलो परिणाम हो। यसलाई माओवादीसँग मात्र जोडिएर होइन, समग्र देशको राजनीतिक अवस्था र त्यसले पैदा गर्ने प्रडक्ट र बाइप्रोडक्टलाई ख्याल गर्नुपर्छ। सामाजिक व्यक्तिगत देशकै महत्वकांक्षाको अन्तरविरोध कहाँ छ भनेर हामीले नियाल्नुपर्छ।
नेपालका कम्युनिष्टले मार्क्सवादको आवरणमा बहुलवाद भित्र भष्टिकरण बाहेक अहिले के गरिराखेका छन् ? नेपालमा आजको दिनमा अफिसियल कम्युनिस्ट शब्द चाहिँ ट्रेडमार्कको रूपमा विकास भएको छ। त्यसले देख्दा त कम्युनिस्ट देखिन्छ। तर मूल्यमा ती चिजहरू देखिँदैन। यसलाई अर्को तरिकाबाट हेर्दा कम्युनिजमको दुई तीन ओटा आधार हुन्छन्। अभिजात वर्ग र सबाल्टन वर्ग बीचको अन्तर र पुँजीलाई कसरी परिचालन गर्न सक्दछ। २०४८ सालदेखि अहिलेसम्म आएका अर्थमन्त्रीको आर्थिक विधि र प्राक्टिस विधि भनेको एउटै किसिमको छ। राजनीतिमा गणतन्त्र आएको छ। त्यो ठुलो उपलब्धि र त्यसले समाजमा फड्को नै मारेको हो। मैले देखेको अफिसियल कम्युनिस्ट ट्रेडमार्किय कम्युनिस्टमा फेरिँदा उनीहरूको नीति पनि आम विश्वका बुर्जुवाहरूको जुन अवस्था हुन्छ। त्यो भन्दा केही फरक देखिएको छैन। कुनै पनि कम्युनिस्ट पार्टीमा बुर्जुवाभन्दा भिन्न देखिएको छैन। त्यसो हुँदा हामीले अफिसियल कम्युनिस्ट ट्रेडमार्किय कम्युनिस्ट भन्दा उपयुक्त हुन्छ जस मध्यमा नेपाल पनि पर्छ। यो विश्व कै समस्या हो।
यही आस्था खच्किँदै गएर शीतल निवास र निर्मल निवासका सन्दर्भमा बहस सुरु भएको हो ? प्रश्न के छ भने केही एउटा समस्या होइन कि अब न्यारेटिभ कहाँ लिएर जाने भन्ने कुरा न्यारेटिभ तयार गर्ने शक्तिको हातमा रहन्छ। अनावश्यक किसिमको न्यारेटिभ पैदा गर्नलाई नेपालको राजनीतिक दलहरू जिम्मेवार छन्। त्यसले पनि हाम्रो जस्तो भू-संवेदनशील मुलुकमा यस्ता जनतासँग निरन्तर जोडिने किसिमका नीति विधि व्यवहार राजनीतिमा नदेख्दा प्रश्नहरू खोजिन्छ। खोजिदा अनावश्यक किसिमको जस्तो माटो खाने र ढुंगा खाने भन्ने जस्ता प्रश्न इतिहासको वेगहरू त अगाडि बढिसक्यो। शीतल निवास र निर्मल निवासका अहिलेका बहस भन्दा हाम्रा बहस धेरै अगाडि बढिसके। अब इतिहासमा कोही फर्किँदैनन्। बाबु अपराधी भयो भने बाबु-आमा दुवै अपराधी हुँदैनन्। इतिहासको गतिमा ब्रेक लाग्दैन अगाडि बढिरहन्छन्। ती बहसहरू पानीको फोकाहरू जस्तै आउँछन् जान्छन् र सकिन्छन्।
यी खालका बहस चर्किरहेको समयमा राजनीतिज्ञले देश र आर्थिक विकासका बहसलाई अगाडि बढाइ दिएको भए हुन्थ्यो कि ? यी तीनै पक्षको केन्द्रीय भाग भनेको राजनीति हो। हरेक राजनीतिको केन्द्रीय दिशा सत्ता नै हुन्छ। त्यो जति नै आदर्शमा रहेको राजनीतिज्ञले पनि केन्द्रीय सत्तामा नपुग्दा कवि र दार्शनिक हुनसक्छन् राजनीतिज्ञ हुन सक्दैनन्। त्यसकारण राजनीतिलाई सिद्धान्त अनुसारको आचरणमा फेर्नु पर्दछ। जब गर्ने र बोल्नेको बीचमा अन्तर ल्याइन्छ त्यसबेला राजनीतिज्ञ माथि प्रश्नहरू आउँछन्। युद्ध लडेर आएका मानिसहरू जेलमा जानुपर्ने अवस्था जब देखिएको छ यी चीजहरू नेपाली समाजको र सिद्धान्तहीन राजनीतिको सबैभन्दा ठुलो कुरा हो।
आज हाम्रो राजनीति त जेलमा छ। चाहे त्यो टोपबहादुरको नाममा कैद होस्, चाहे बालकृष्णको नाममा वा ललिता निवासका बहसहरूमा हुन्। हाम्रो राजनीति त त्यहाँ कैद भएको छ।
यति लामो समय भइसक्यो शान्ति सम्झौताको महत्त्वपूर्ण पक्ष टिआरसी पास हुन सकेको छैन। त्यसैको लागि संयुक्त राष्ट्रसँगका महासचिव यो देशमा आउनुपर्ने अवस्था आएको छ। यो सबै कुरालाई एउटै डालोमा राखेर हेर्दा मात्र निकासाका पाटाहरु पहिल्याउन सक्छौँ।
राजनीतिले यो खालको लय समाउन नसक्दा सामाजिक संरचनामा साम्प्रदायिक ध्वजाहरू फाटिराखेको छ। यसले अन्ततः मुलुकलाई कहाँ लैजान्छ ? राजनीति जब विचार धाराबाट विमुख हुन्छ। त्यसबेला समाजमा जातीय, धार्मिक र पहिचानका संघर्षहरू अगाडि आउँछन्। जहाँ विचारलाई नेतृत्वले अगाडि लान सकेको छैन।
अर्को हाम्रो जस्तो भूसंवेदनशील देशमा कुनै पनि विचार आउनलाई पासपोर्ट खोजिरहँदैन। भारतमा उग्र धार्मिक घृणात्मक अभियान चलेको छ। अल्पमतमाथि आक्रमणका स्थितिहरू आएका छन्। त्यसका बाछिटाहरू हाम्रोमा पनि आउने भए।
हामी पनि धार्मिकतामा छौँ। जब धार्मिक घृणामा बदलिन्छ अपवादमाथि उत्पीडनको विषयमा जान्छ र अरु विषय बहस र अभियानका चिजहरु हुँदैनन्। तब यस्ता किसिमका जातीय धार्मिक क्षेत्रीय बहस आउँछन्। त्यसमा पनि सिधा हाम्रो राजनीति लयमा आउनको लागि सिद्धान्तको व्यक्तिहरु परिचालन हुन्छन् ।
यो राजनीतिक जटिलता निम्त्याउनुमा शीर्ष नेतृत्व निश्चित राजनीतिक पार्टीका नेता दलहरू जिम्मेवार छन् भन्यो भने के हुन्छ ? सिद्धान्तहिन राजनीति र त्यसैको आधारमा चल्ने नेतृत्व जुन छ त्यसले समाजलाई एउटा भिड तन्त्रमा लैजान्छ। त्यसले आम नागरिक पार्टी र सिद्धान्तको राजनीतिभन्दा पनि भिडको राजनीतिमा गइरहेका छन्। भिडलाई आवेगमा ल्याउन विभिन्न तरिका हुन्छन्। त्यहाँ घृणा हुन्छ। धार्मिक राजनीतिक उत्तेजना हुन्छन्। मूल कुरा कांग्रेस कांग्रेस नरहनु, एमाले एमाले नरहनु, माओवादी माओवादी नरहनु अथवा राजनीतिक पार्टीहरू राजनीतिक पार्टी नभई ती एउटा गुटको नेता बनेर जानु गलत छ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय सैद्धान्तिक प्रतिबद्धतामासमेत दलहरु चुकेको पुष्टि हुन्छ।
तत्काल नागरिक विद्रोह हुनसक्ने अवस्था छैन। दलभित्र यथास्थितिमा कुनै विद्रोहको सम्भावना छैन। यो वितृष्णाको राजनीतिले के ल्याउँछ ? कहिल्यै पनि शून्यता हुँदैन। त्यो शून्यता भर्नलाई आँधिबेहरी आउँछ। त्यो आँधिबेहरीहरु कुनै राजनीतिक ज्योतिषले बताउन सक्दैन। नेता सुधार गर्न राजनीतिक पार्टीका कार्यकर्ता सचेत र जागरुक हुनुपर्छ। कार्यकर्ता जागरुक र सचेत भएन भने दुर्घटनाको जोखिम हुन्छ। सचेत नागरिक र मतदाताले भिडमा नभई आवेगमा नभई असली नेतृत्व र प्रतिनिधिको चयन गर्नुपर्छ। यहाँ अहिले जनतालाई आकर्षित गर्न र आफूप्रति केन्द्रित गर्ने नेता बढेका छन्। यो नयाँ किसिमको भिड राजनीतिमा आइराखेको छ। यसबाट पनि सचेत हुनु जरुरी छ। यो अविश्वास तोड्न ठुलो हस्तक्षेपको आवश्यकता अहिले देखिरहेको छ। राजनीतिज्ञहरूको हातमा मात्र नभई प्राध्यापक, मिडियाकर्मी, बुद्धिजीवी, कलाकार र सचेत राजनीतिज्ञले अत्यन्तै ठुलो हस्तक्षेप गर्नुपर्ने आवश्यकता मैले देखेको छु।
हरेक नेपालीलाई राज्यप्रतिको उत्तरदायित्व बोध हुनुपर्यो ? राज्यमा छ भने उसले जतिसुकै विरोध गरे पनि उत्तरदायित्व बोध गर्नुपर्छ। राज्यलाई बेवास्ता गर्ने र उत्तरदायित्व बोध नगर्ने नागरिक हुँदैन। नागरिकले राज्यविरुद्ध कुण्ठा व्यक्त गर्न सक्छ भने जिम्मेवारी बोध पनि गर्नुपर्छ।