जीवनशैली

यक्ष प्रश्न : सुखी को हो ? सबैभन्दा आश्चर्यको कुरा के हो ?

By खबरहब

December 02, 2023

एक दिनको कुरा हो । पाण्डवहरू बिहानको खानपिन सकेर जङ्गलको यात्रामा थिए । यसै समयमा एउटा मृग देखा पर्‍याे । पाण्डवहरू मृगको पिछा गर्न थाले । जति पिछा गरे पनि सो मृग फेला परेन । खेद्दाखेद्दै मृग बेपत्ता भयो । मृगको पिछा गर्दा गर्दै उनीहरु निकै थकित भए । घाम र तिर्खाले पीडित भए । उनीहरु एउटा रूखमुनि गएर थकाइ मार्न थाले । थकाइ केही कम भए पनि पानीको प्यास भने शान्त भएन । पानीका लागि चारैतिर हेरे तर पनि पाउन नसकेपछि युधिष्ठिरले सहदेवलाई वरिपरि कतै पानी छ कि भनी खोज्न पठाए ।

दाजुको आज्ञाअनुसार सहदेव पानीको खोजीमा हिँडे । पाखी खोज्दै गएका सहदेवले केही पर पुगेपछि एउटा तलाउ भेटे । पानी देख्ने बित्तिकै उनी खुसी भए । ज्यादै नै तिर्खा लागेकाले उनी पहिला पानी खानका लागि तयार भए । जब उनले अँजुलीमा पानी लिएका थिए । तब अकस्मात् रुपमा त्यस शान्त जङ्गलबाट एउटा आवाज आयो । पर्ख ! यो जादु गरिएको तलाउ हो । जबसम्म तिमीले मेरा प्रश्नको जवाफ दिँदैनौ तबसम्म यहाँको पानी पिउन पाउने छैनौ । तिर्खाएर व्याकुल  भएका सहदेवले त्यस आवाजप्रति ध्यान नदिई पानी मुखमा के पुर्‍याएका थिए उनी अचेत भएर ढले ।

पानी खोज्न गएका सहदेव धेरै समयसम्म पनि नआए पछि युधिष्ठिर चिन्तित भए । के भएको हो भनी बुझ्न नकुललाई पठाए । नकुल सहदेवलाई खोज्दै गए । उनी त्यही पोखरीमा पुगे जहाँ सहदेव अचेत अवस्थामा ढलिरहेका थिए । सहदेवको यो हालत देखेर नकुल आत्तिए । तर पनि प्यास निकै नै लागेकाले पहिले पानी पिएर वास्तविकता बुझ्ने मनसायले तलाउ तिर अघि बढे । उनी तलाउमा पुगेर अँजुलीमा पानी उठाउन मात्र के लागेका थिए त्यसैबेला सहदेवलाई झैँ पर्ख ! यो तलाउको पानी खानका लागि मेरा प्रश्नको जवाफ दिनुपर्छ । अन्यथा त्यसको फल नराम्रो हुनेछ भन्ने आवाज आयो । नकुलले सो आवाजलाई वेवास्ता गर्दै पानी मुखमा लगाएका मात्र थिए उनी पनि त्यहीँ ढले ।

सहदेवलाई खोज्न गएको भाइ नकुल पनि धेरै बेरसम्म नफर्किएपछि युधिष्ठिर झनै चिन्तित भए । उनले भाइहरूलाई खोज्नका लागि क्रमशः अर्जुन र भीमलाई पनि पठाए । धनुर्धारी अर्जुन र बलवान भीम पनि धेरैबेरसम्म नफर्किए पछि युधिष्ठिर आफैँ भाइहरूको पाइला पछ्याउँदै खोजीमा हिँडे । केही पर पुगेपछि उनले तलाउ भेटे । उनले तलाउको डिलमा आफ्ना चार भाइहरू अचेत अवस्थामा लडिरहेको पाए । भाइहरूको यो अवस्था देखेर युधिष्ठिर छाति पिटीपिटी रुन थाले । रुँदारुँदा उनको मुख सुक्यो । उनी पानी खानका लागि तलाउमा पुगे ।

उनले पानी खानै लाग्दा फेरि त्यही आवाज गुन्जियो । पर्ख ! मेरा प्रश्नको जवाफ नदिउन्जेल यो पोखरीको पानी खान मनाही छ । अटेर गरेर खायौ भने तिम्रो हालत पनि तिम्रा भाइहरूको जस्तै हुनेछ । त्यसैले पानी खाने मन छ भने मेरा प्रश्नको जवाफ दिन तयार होउ ।

युधिष्ठिरलाई पक्कै पनि यो कुनै मायाजाल हो भन्ने लाग्यो । उनले आवाज आएतिर फर्केर भने– तपाईँ को हो ? म तपाईँका प्रश्नको जवाफ दिन तयार छु, प्रश्न गर्न सक्नुहुन्छ ।

त्यसपछि त्यो अदृश्य आवाजले भन्यो म यक्ष हुँ । तिमीले मेरो चेतावनीलाई ध्यान दिएर राम्रो गर्‍याे । अब मेरा प्रश्नहरूको जवाफ देउ ।

त्यसपछि यक्ष र युधिष्ठिरबीच सवालजवाफ सुरु भयो– यक्ष : पृथ्वीभन्दा ठूलो को हो ? आकाशभन्दा उच्च को छ ? हावाभन्दा चाँडो दौडने के हो ?

युधिष्ठिर  :  पृथ्वीभन्दा ठूली आमा हुन् । आकाशभन्दा पनि उच्च बाबु हुन् र हावाभन्दा चाँडो दौडने मन हो ।

यक्ष  :  सुत्दा आँखा नचिम्लने प्राणी कुन हो ? उत्पन्न भएर पनि हलचल नगर्ने चिज के हो ? हृदय कसको हुँदैन ? सबैभन्दा छिटो बग्ने के हो ?

युधिष्ठिर : सुत्दा आँखा नचिम्लने प्राणी माछा हो । उत्पन्न भएर पनि हलचल नगर्ने अण्डा हो । ढुङ्गाको हृदय हुँदैन र सबैभन्दा छिटो बग्ने खोला हो ।

यक्ष : परदेशको मित्र को हो ? घरभित्रको मित्र को हो ? रोगीको मित्र के हो ? मृत्यु नजिक पुगेको बेलाको मित्र को हो ?

युधिष्ठिर : परदेशको मित्र धन हो । घरभित्रको मित्र पति वा पत्नी हो । रोगीको मित्र औषधी हो । मृत्यु नजिक पुगेका बेलाको मित्र दान हो ।

यक्ष : मानिसको सबभन्दा ठूलो शत्रु कुन हो ? कुन चाहिँ त्यस्तो कुरा हो जुन कुरा मानिसले गुमाए पछि सुखी र धनी हुन्छ ? उपचार नलाग्ने रोग कुन हो ? साधु कसलाई भनिन्छ ? दुष्ट कसलाई भनिन्छ ?

युधिष्ठिर : रिस मानिसको सबभन्दा ठूलो शत्रु हो । रिस त्यो कुरा हो जुन कुरा मानिसले गुमाए पछि खुसी र धनी हुन्छ । उपचार नलाग्ने रोग लोभ हो । सबैलाई दया गर्ने व्यक्ति साधु हो । निर्दयीलाई दुष्ट भनिन्छ ।

यक्ष : सुखी को हो ? सबैभन्दा आश्चर्यको कुरा के हो ?

युधिष्ठिर : जो मानिस पेटभर खान पाउँछ, जसलाई ऋण लागेको छैन, जसलाई परदेश जानु पर्दैन त्यही मानिस सुखी हो । सबैभन्दा आश्चर्यको कुरा आफ्नै आँखा अगाडि अरु मरेको देख्दा देख्दै पनि मानिसहरू आफू सँधै बाँच्ने इच्छा गर्छन्, अमर हुन चाहन्छन् । यो भन्दा अर्को आश्चर्य छैन ।

यक्ष : एक्लै घुम्ने को हो ? एक पल्ट जन्मेर फेरि को जन्मन्छ ?

युधिष्ठिर  ः एक्लै घुम्ने सूर्य हो । एक पल्ट जन्मेर फेरि जन्मने चन्द्रमा हो । 

यक्ष : मधुरभाषीलाई के भनिन्छ ? सोचीविचारी काम गर्ने मान्छेले के पाउँछ ? थुप्रै मित्रहरू बनाउनेलाई के फाइदा हुन्छ ? जो धर्मनिष्‍ठ छ, उसलाई के मिल्छ ?

युधिष्ठिर  ः मधुरभाषी सबैको प्यारो हुन्छ । सोचीविचारी काम गर्ने मान्छेले सफलता पाउँछ । जसले धेरै साथी बनाउँछ ऊ सुखले बस्न सक्छ । जो धर्मनिष्ठ छ, उसले सद्गति प्राप्त गर्छ ।

यक्ष : सबैभन्दा तुच्छ बस्तु के हो ? सुख र शान्तिको रहस्य के हो ?

युधिष्ठिर  : सबैभन्दा तुच्छ बस्तु चिन्ता हो । सत्य, सदाचार, प्रेम र क्षमा सुखको कारण हो । असत्य, अनाचार, घृणा र क्रोधको त्याग नै शान्तिको मार्ग हो ।

यक्ष : युधिष्ठिर म तिम्रो जवाफबाट सन्तुष्ट भएँ । अब म तिम्रा यी चार भाइमध्ये एउटालाई बिउँताइदिन्छु । भन कुनचाहिँलाई बचाइदिउँ ?

युधिष्ठिर : यक्षराज ! मेरा भाइहरूको गल्तीलाई क्षमा गरी सबै भाइलाई बिउँताइदिनुहोस् ।

यक्ष : सबैलाई त बिउँताउन मिल्दैन यी मध्ये एकजनालाई मात्र म बिउँताउन सक्छु ।

युधिष्ठिर : त्यसो हो भने मेरो कान्छो भाइ नकुललाई बिउँताइदिनुहोस् ।

यक्ष : तिमी धनुर्धारी अर्जुन र दश हजार हात्तीको बल भएका भीमलाई छाडेर किन नकुललाई बचाउन चाहन्छौ ?

युधिष्ठिर : यक्षराज म राजा हुँ । राजाले न्याय छाड्नु हुँदैन । सबैलाई बराबर गर्नुपर्छ । मेरा आमा दुईवटी हुनुहुन्छ । कुन्तीको म एउटा छँदैछु । मेरी अर्की आमा माद्रीको एक छोरा भए हामी दुवै तर्फका एकएक रहन्छौँ । यही मेरो धर्म हो । वास्तवमा नकुलको सट्टा भीमको जीवन वा अर्जुनको जीवन जोगाउन खोजेँ भने र मेरो आफ्नै फाइदा खोजेँ भने म अन्यायी हुनेछु । नकुल र सहदेव दुवै मरे भने माद्रीको वंशको अन्त्य हुनेछ ।

यक्ष : युधिष्ठिर ! तिम्रो धर्म र न्याययुक्त कुराबाट म ज्यादै खुसी भएँ । म तिम्रा चारै भाइलाई बिउँताइदिन्छु । तिम्रा भाइहरूले नगर भनेको काम अटेर भएर बलजफ्ती गर्न खोज्दा यो अवस्था आएको हो । तर तिमी ज्यादै संयम र धैर्यशाली रहेछौ । तिमी धर्म र न्यायका कुरामा ज्यादै कुशल रहेछौ । म धर्मराज यम हुँ । तिम्रो परीक्षा लिनका लागि मैले यो सब गरेको थिएँ । तिमी परीक्षामा सफल भयौ । हेर ! मानिसले जस्तोसुकै विपत्ति आइलागे पनि होस गुमाउनु हुँदैन । निषेध गरिएको चिजमा जबरजस्ती पनि गर्नु हुँदैन । आफूले धर्म र न्यायको रक्षा गरियो भने मात्रै धर्म र न्यायले पनि आफ्नो रक्षा गर्छ ।