नेपाली राजनीतिका शीर्ष धरोहरमध्ये पर्छन- झलनाथ खनाल । सधैँ चिरिच्याँट्ट परेर हिँड्ने, बौद्धिक नेताको छवि उनीभित्र खोजिन्छ । पुराना पुस्ताका नेताको जबर्जस्त ओगटाईको सकसबाट नेपाली राजनीतिले मुक्ति नपाएको भन्ने गुनासोले आम मानिसमा घर गरिरहँदा ७४ वर्षका झलनाथ खनालले ‘खबरहब’संगको साक्षात्कारमा भने-मभित्र अहिले ३० वर्षे जोश छ । यति भनिरहँदा रुग्ण शरीरका लक्षणले गाँजिरहेको देखिन्थ्यो । केही वर्षअघिदेखि पार्किन्सन रोगले ग्रसित छन । त्यसमाथि किड्नी प्रत्यारोपणपछि नियमित औषधी प्रयोग गर्नुपर्ने बाध्यता छ ।
शुक्रबार हाम्रो टोली उनको निवास डल्लु पुग्दा पहिलो तलाको बैठक कोठामा बसेर हामीसँग कुरा गर्न तयार भए । बैठक कोठाको भित्तामा कम्युनिस्ट नेताहरू पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका नेताहरूको तस्बिर सजिएको थियो । यस्तै उनी बस्ने सोफाको भित्तामा पिता पुङ्कनाथ खनाल र माता मधुमाता खनालको तस्बिर देखियो । परिवारका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घर परिवारले ‘जन्तरे’ भनेर बोलाउने गरेको सुनाए ।
जन्ममा मात्र नभई कर्ममा पनि उनी लक्की सेभेन ठहरिए भन्दा फरक पर्दैन । एउटा राजनीतिक प्राणी मुलुकको कार्यकारी प्रमुखको हैसियतमा पुग्नुको दुर्लभ संयोग उनको भाग्यमा पनि लेखियो । रविलक्ष्मी चित्रकारसँग अन्तर जातीय विवाह गरेको खनालको एक छोरा छन् । १५ वर्षकै किशोरावस्थाबाट नै राजनीतिमा आवद्ध भएकाले उनको राजनीतिक उर्जामा कति पनि बुढ्याइँ लागेको नदेखाउने लोभ देखिन्छ । त्यो आत्मरतिले आयु बढाउन सहयोग गरेको स्पष्ट देखिन्छ ।
चाउरी परेको गाला, थर्थर काँपेका हात देखेपछि स्वभाविक प्रश्न जन्मियो त्यो जोशिलो झलनाथ र यो झलनाथबीचको अन्तर के छ ? प्रश्न झर्न नपाउँदै भन्न थाले, ‘अहँ, केही फरक छैन । मेरो ३० वर्षको उमेरमा जुन किसिमको जोस थियो ७४ वर्षमा पनि त्यही खालको छ ।
बरु दृढ इच्छाशक्ति बढेर २१ भएको १९ मा झरेको छैन । नेपालका ‘मै हुँ ’ भन्ने कम्युनिस्ट नेताहरू दलाल पुँजीवादको पुच्छर हुँदै गएका छन् । त्यो कारण उनीहरूको समेत भारी बोकेर मैले हिँड्नुपर्ने आवश्यकता महसुस गरिरहेको छु । पहिलेभन्दा बढी जोस, जिम्मेवारी र होशियारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गरिरहेको छु । राष्ट्रका र जनताका खातिर जुनसुकै जिम्मेवारी लिन सक्छु । त्यो क्षमता र आँट म सँग छ । तर म निरीह भएर हिँड्न सक्दिनँ ।
राजनीतिमा पछिल्लो समय युवाको आकर्षण बढेको छ तर खनाल यो मान्न तयार छैनन् । उनी भन्छन्, ‘खहरे खोलाको भरमा राजनीति चल्दैन । राजनीति गर्न अनुभव, खोज र क्षमता चाहिन्छ ।’
पार्टी क्रान्तिकारी गतिमा अगाडि बढ्न नसकेको निष्कर्ष
समाजवादी पार्टी स्थापना भएको दुई वर्ष भएको छ । पार्टी स्थापनाको ६ महिना नबित्दै स्थानीय तहको निर्वाचन सामना गरेको पार्टीले गठबन्धन मार्फत निर्वाचनमा होमिए पनि अपेक्षाकृत नतिजा ल्याउन सकेन । लगतै संघ र प्रदेशको निर्वाचन भयो । सो निर्वाचनमा समाजवादीको हालत कमजोर देखियो
राष्ट्रिय पार्टी बन्ने औकात राखेन । यसको उपज पार्टी क्रान्तिकारी गतिमा अगाडि बढ्न नसकेको खनाल बताउँछन् । उनले क्रान्तिकारी कार्यदिशा लक्ष्य लिएर सबै नेताहरू अगाडि नबढेकाले यसको असर पार्टीले भोग्नु परेको बताए । उनले भने, ‘जति क्रान्तिकारी तरीकाबाट पार्टी अगाडि बढ्नुपर्ने हो, बढ्न सकेन । यसको दोष सबैले लिनुपर्छ । दक्षिणपन्थी किसिमका सोच, विचार र निर्णयका आधारमा पार्टी अगाडि बढ्न खोजेकाले त्यसको असर पार्टी सुदृढीकरण अपेक्षाकृत देखिएन ।’
महाधिवेशनले तय गर्छ पार्टीको क्रान्तिकारी जग नेकपा एकीकृत समाजवादीले मिति फेरबदल नभए माघको १४ गतेबाट १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशनपछि पार्टीको क्रान्तिकारी जग खडा हुने खनालको दाबी छ । त्यो बेला पार्टी स्थापना भएदेखि हालसम्मका कमी कमजोरीको निर्मम समीक्षा हुनेछ । उनले भने, ‘पार्टीको समीक्षा गरेर क्रान्तिकारी जगमा उभ्याइसकेपछि दूर गतिमा अगाडि बढ्छ । अहिले एकाध समस्या चाहिँ छ । महाधिवेशनपछि यी सबै समस्या समाधान हुन्छ ।’
सानो पार्टीमा गुटको टक्कर नेकपा एकीकृत समाजवादीमा दुई गुट छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल आफैँले दुई गुट चलाएको स्पष्ट देख्न सकिन्छ । यसरी पार्टीमा गुट उपगुट हुनाले पार्टी विस्तारमा चुनौती देखिएको नै छ । यसबारे उनी भन्छन्, ‘पार्टीमा वैचारिक बहस हुन्छ ।
मनमुटाब हुन्छ यो सामान्य हो । राजनीतिक दलमा धेरै किसिमका विचार आउँछन् । यसैलाई गुट चलाको भन्न मिल्दैन ।’ उनले यहाँको पार्टी भित्रकै नेताहरू विचारमा स्पष्ट देखिनु भएन नि ?भन्ने प्रश्नमा भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी भड्काउ भएको छ । यसको असर एकीकृत समाजवादीमा पनि परेको छ । दलाल पुँजीवादीको साटघाट भएकाले कम्युनिस्टहरू विभाजित भए । यसको प्रभाव सर्वत्र परेको छ । अब यो सम्पूर्ण कुरा पार्टीको महाधिवेशनले मिलाएर जान्छ । अब हामी हाम्रो क्रान्तिको निसाना र एकताको प्रक्रियाबारे निर्णय गर्छौँ।’
कम्युनिस्टहरू दक्षिणपन्थी बाटोमा जान कसले भूमिका खेलिरहेको छ ? भन्ने प्रश्नमा भने, ‘यो एउटा बहसको विषय छ । कसले खेलेको छ पहिचान गर्दैछौँ । दक्षिणपन्थी बाटोमा हिँड्नु नै राम्रो हो भन्ने केहीलाई लागेको होला । तर यो गलत हो । वर्गसंघर्षको उपज हो ।’ उनले आफ्नो पार्टी छाड्ने र आउने दुवै क्रम जारी भएकाले पार्टीबाट मान्छेहरू गइरहेका छन् भन्ने भनाई सत्यमा आधारित नभएको तर्क गरे । उनले भने, ‘पार्टी छाडेर जानेको मात्र कुरा चल्दो रहेछ तर उत्तिकै मान्छेहरूको आगमन भएको छ । बिहीबार मात्र हाम्रो पार्टीमा ५ सय मानिस जोडिनु भएको छ । यस्तै अस्ति भर्खरै चलाएको मेची महाकाली समाजवादी अभियानबाट करिब ५ हजार कार्यकर्ता पार्टीमा प्रवेश गर्नु भएको छ ।’ तर उनी पार्टीको विकासको गति कमजोर रहेको भन्नेमा सहमत देखिन्छन ।
बाम एकताको अडान संसदीय राजनीतिमा आवधिक निर्वाचन हरेक पाँच वर्षमा भइरहेकै हुन्छ । उनी हरेक निर्वाचन आइरहने तर कम्युनिस्ट आन्दोलनले क्रान्तिकारी गति लिएर बढ्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘२०७४ मा दुई पार्टीहरू मिल्दा बहुमत प्राप्त भएको थियो । त्यतिबेला बाम एकताको कार्यदिशा ठीक थियो, त्यही कारण पार्टी एकता भयो । फेरि पनि कम्युनिस्ट पार्टीहरूले ठीक कार्यदिशा लिएर सामूहिक रूपले अगाडि बढे भने बहुमत आउँछ । तर टुटफुटले समस्या यथावत हुन्छ । वैचारिक रूपान्तरणले अगाडि बढ्नुपर्छ । यसमा हाम्रो पार्टीले पनि गम्भीर बहस गरिरहेको छ ।’ उनले बाम एकताको पक्षमा पार्टीमा गम्भीर तरिकाले बहस भइरहेको पनि बताए । यही बहसलाई सञ्चारमाध्यमले नकारात्मक व्याख्या गर्न नहुने उनको भनाइ छ । वर्तमान नेपालले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगमा भएकाले यति वेला समाजवादी क्रान्तिको मुख्य निसाना दलाल पुँजीवाद भएको बताउँदै दलाद पुँजीवादले नै वाम एकताको बाटो रोकिदिएको बताउँछन् ।
यसका मुख्य मुख्य प्रतिनिधिले समग्र देशको रूपान्तरण प्रवाह छेकिरहेको हुनाले त्यस विरुद्ध आम जनता गोलबद्ध गर्नुपर्ने बताउँछन् । समाजवादको लक्ष्यतर्फ अगाडि बढ्ने विषयलाई पछाडि राखेर गठबन्धन टिकाउने खेलमा लाग्नु नहुने बताउँछन् ।
उनले भने, कुन सरकारलाई टिकाउने या नटिकाउने यी क्षणिक कुराहरू हुन । रणनीतिक लक्ष्य जनताको माग सम्बोधन गर्नुपर्ने भएकाले व्यापक संयुक्त मोर्चाको आवश्यकता उनी महसुस गर्छन् । खनाल भन्छन्, ‘व्यापक र वृहत् वामपन्थी एकतामा अहिलेका कम्युनिस्ट पार्टीहरू लागेनन् भने अन्त्यमा यी विभिन्न पार्टीका नेतृत्व खाडलमा पर्न सक्छन् । त्यसपछि पार्टी छाडेर कार्यकर्ताले अलग बाटो लिन सक्छन् ।’ उनी कम्युनिस्ट पार्टीहरू सच्चिएर जानुपर्नेमा थप जोड दिन्छन् ।
एमाले नेतृत्वसँग सम्बन्ध सुध्रिएन एमालेसँग मिल्नुपर्छ भन्ने विचारसँग नजिक खनालसँग हामीले जिज्ञासा राख्यौं– एमालेसँग सम्बन्ध सुधार भएको हो ?उनले भने, ‘तपाईँले सोधेकै अर्थमा चाहिँ एमालेसँग सम्बन्ध सुधार भएको छैन । बामपन्थीका बीचमा सम्बन्ध सुधार भएको म देख्दिन । हेलो नमस्कार, खबरखाबर आदान प्रदान भइरहेको छ । कमसेकम यति मात्र कुरा पनि सकारात्मक हो ।
औपचारिक रूपले देशको परिस्थिति के हो ? नेपालको कम्युनिस्ट आन्दोलनको स्थिति के हो भन्ने कोणबाट छलफल भएको छैन । योजनाबद्ध तरिकाले भेट भएको मलाई थाहा छैन ।’ उनले थपे, ‘न एमाले समाजवादीमा आउने माहोल छ, न समाजवादी एमालेमा जाने अवस्था छ । एक अर्कामा जाने माहोल म कसैको पनि देख्दिन ।’ मिलनमा को बाधक ? भन्ने प्रश्नमा भने, ‘एमालेको कुरा एमालेलाई नै सोध्नु तर हाम्रो पार्टीले वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्छ भन्ने प्रस्ताव नै पारित गरेको छ । म चाहिँ बृहत् वामपन्थी एकताको पक्षमा छु । त्यो मेरो घोषित नीति हो ।’
राष्ट्रिय सभा निर्वाचनमा पनि यही गठबन्धन कायम राष्ट्रिय सभा निर्वाचन माग ११ गते हुँदैछ । यो निर्वाचन जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबीच हुने निर्वाचन हो । खनालका अनुसार यो निर्वाचनमा पनि गठबन्धन अनिवार्य रहनुपर्ने आवश्यकता रहेको बताउँछन् । उनी भन्छन्, ‘जो जोसलाई जसरी गठबन्धन गर्न मन छ गर्ने हो । यो गठबन्धन निर्वाचनमा रहन्छ । फल निकाल्ने किसिमको गठबन्धन हुन्छ । यसमा हाम्रो पार्टी पनि सहभागी हुन्छ ।’
सरकारको काममा बिमति राष्ट्रियतामाथि बडो खतरा छ भनेर विभिन्न राजनीतिज्ञहरुले पनि बोल्दै आएका छन् । यसका कारण विभिन्न नयाँ शक्तिहरूको जन्म भएको भन्नेहरूको पनि कमी छैन । मुख्य जिम्मेवारी लिएर सरकारमा गएको पार्टीले जनताका माग सम्बोधन गर्न नसकेको खनालको विश्लेषण छ । जिम्मेवारी लिएका शक्तिहरूले राम्रोसँग काम गर्न नसकेकाले नयाँ पार्टीहरूको आगमन भएको कुरालाई उनी नकार्न सक्दैनन् । अहिले सरकारले गरिरहेको कामप्रति असन्तुष्ट जनाउँदै उनी भन्छन्, ‘हाम्रो पाटी सरकारमा भएपनि सरकारले गरेको कार्यप्रति म खुसी छैन । मलाई लाग्छ स्वयं प्रधानमन्त्री पनि यो कुरामा खुसी हुनुहुन्न जस्तो लाग्छ ।
आम जनता त खुसी हुने कुरै भएन । मलाई सरकारमा सहभागिताको विषयलाई लिएर भनेर प्रश्न नगर्नु होला । यी विषयमा हामी छलफल गर्छौँ । यो पार्टीको कुरा हो । धेरै कुराको छिनोफानो गर्नुपर्ने छ ।’ उनले सरकारले अपराधीहरूलाई माफी दिएकोप्रति दुखी हुँदै भने, ‘अपराधी र सामान्य मान्छे पनि मुल्याङकन गर्न नसक्ने सरकारले कसरी देश हाँक्छ ? अरु बिस्तारै विस्तारै देख्दै जानुहुन्छ ।’
थाकेको छैन परिआए जुनसुकै जिम्मेवारी लिन्छु
सुवासचन्द्र नेम्वाङको क्षेत्र इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने पक्का छ । हुन त खनालको क्षेत्र इलाम १ हो । तर उनलाई पार्टी तथा गठबन्धनले पत्याएमा पुनः निर्वाचनमा उठ्ने मनसाय देखियो । अहिले नै उठ्ने नउठ्ने विषयमा कुनै निधो नभएको बताउँदै उनले कुनै पनि निर्वाचन क्षेत्रमा कति वेला जाऊँ भनेर खुट्टा उचालेर नबसेको प्रस्ट पारे ।
उनले भने, ‘२०७९को निर्वाचनमा हारेर मलाई पश्चात्ताप पनि लागेको छैन । कुनै ठाउँबाट जनताले पनि र पार्टीले पनि भन्ने स्थिति आयोभने सोच्ने कुरा बेग्लै छ । अब गठबन्धनको विश्वास छैन । म देशका निम्ति काम गर्ने हो । कुनै शक्तिले न मेरो हातखुट्टा बाँध्न सक्छ न मुख बन्द गर्न सक्छ । थाकेको छैन, परिआए जिम्मेवारी लिने र लड्नुपरे लड्ने कुरा छँदैछ ।’
उनले केही राजनीतिज्ञको गलत क्रियाकलापले गर्दा आम जनतामा सारा नेता गलत छन् भन्ने खालको भाष्य पैदा भएकाले यी कमजोरी सच्याउन सबै राजनीतिक दललाई र नेताहरूलाई सुझाव दिए । केही मिडियाले पनि यसलाई बढुवा दिएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘सबै नेता भ्रष्ट हुन भन्ने भाष्य पैदा गराउन केही मिडियाले पनि भूमिका खेले । केही राम्रा मिडिया पनि छन् । राम्रा मिडियाले खेलेको भूमिकालाई म सम्मान गर्छु । गलतको आलोचना गर्नुपर्छ ।’