कोहलपुर– माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढ्न थालेको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन । यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । गाउँगाउँमा रातभर आगो बाल्न दाउरा संकलन , धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त रहेको पाइन्छ । चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातलगायत मिठामिठा परिकारको जोहो गर्ने गरिन्छ ।
माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गरिन्छ । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गरिन्छ । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन रहेको राप्ती सोनारी गापा खैरेहनीका लहान थारुले बताए । उक्त समुदायमा माघीको रौनकमा खानपिन सँगसँगै आफ्नो वेषभूषामा नाचगान र संस्कृति झल्कने खालका प्रस्तुति पनि गरिन्छ ।