फाइल तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

अफगान प्रहरीको कारवाहीमा ४ अपहरणकारी मृत्यु, व्यापारीको उद्धार

By खबरहब

January 03, 2023

काठमाडौँ- अफगान प्रहरीले सोमबार अबेर राजधानी काबुलमा गरेको कारवाहीमा चार अपहरणकारीको मृत्यु भएको छ । अपहरणकारीले एक जना व्यापारीको अपहरणको प्रयास गरेपछि कारवाही गरिएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताएका छन् । कारवाहीपछि अपहरित व्यापारीको उद्धार गरिएको छ ।

अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने प्रयास गरिरहेको थियो । तर प्रहरीले चार अपहरणकारीलाई गोली हानेर व्यापारीलाई उद्धार गरेको थियो ।

तालिबानद्वारा सञ्चालित अफगानिस्तानको कार्यवाहक सरकारले मुलुकमा अपहरण, लागूऔषध ओसारपसार, सशस्त्र डकैती र आतङ्कवादी जस्ता अपराधी र गैरकानूनी गतिविधिहरूमाथि कारवाही गर्ने बाचा गरेको छ ।