राजनीति

सरकारमा जान कांग्रेसलाई हत्तारो छैन : अर्नुननरसिंह केसी

By खबरहब

February 03, 2023

काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताए ।

न्यूज लाइन्स नेपालको सातौं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सहि निर्णय दिन नसक्दा पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताए ।

नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हत्तारो नभएको पनि बताए । उनले मुलुकमा देखिएका बिभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राखे । सभामुख, प्रधानमन्त्री बिभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउदा बृहत शक्तिसन्तुलन हुने उनले दावी गरे । उनले गृह मन्त्रालयका बिषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गरे ।

केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृहमन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरुलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए । ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरुले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए ।

नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि बताए । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमती निर्माण गर्नुपर्नेमा उनको जोड छ ।