अन्तर्वार्ता

भोट पाएको मान्छे राष्ट्रपति, सबैको साझा राजा

By खबरहब

March 03, 2023

अहिले राजनीतिक दलहरू राष्ट्रपतिको चुनाव आउन केही दिन बाँकी रहँदा सबै त्यसमा नै होमिएका छन्। अहिलेको परिवेश आन्तरिक राजनीतिमा मात्र सीमित छैन। यसका प्रशस्त उदाहरणहरू यसअघि नै आइसकेका छन्। पछिल्लो समयमा देखिएको राजनीति अस्थिरताको कारणले गर्दा अहिले यो देशमा राजनीतिलाई चलाउने शक्ति को हो ? राष्ट्रपति चुनावको सम्मुखमा आइरहँदा विदेशी शक्ति राष्ट्रका नेताहरूको उपस्थिति र त्यसले देखाएको बाटोमा राजनीतिक दलहरू अगाडि बढेको भनेर टीकाटिप्पणी भइराखेका छन्। आखिर नेपालको राजनीतिमा के भइराखेको छ ? अबको राजनीति कसरी अगाडि बढ्छ ? यी र यस्तै समसामयिक विषयमा आधारित रहेर राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ ? नेपालको राजनीतिमा पुरानै कुरा दोहोरिएका छन्। स्वदेशी विचार र विदेशी विचार आइरहेका छन्। २०४६ सालपछि काठमाडौँको हाम्रो अधिकार दिल्ली पुर्याइयो। १२ बुँदे समझदारी गरेर अँध्यारो सुरुङ तिर लगियो। त्यसमा अन्तरिम संविधान लागू गरेर जबरजस्ती गरेर असंवैधानिक ढङ्गले राजालाई फाल्यो र पश्चिमाले भनेको अनुकूलको बहुलवाद लागू गरियो। राज्यले जनतालाई दिने सेवा सुविधालाई बेवास्ता गर्न थालियो। केन्द्रीकृत शासन प्रणालीलाई छोडेर एउटा उदार अर्थतन्त्रको हबला दिँदै देशको अर्थतन्त्र तस्कर माफियालाई सुम्पिएर उनैलाई मालिक ठानियो। तिनीहरू त्यही पैसाले दसैँ तिहार मनाउँदै जनताले दिएको करलाई पनि चलन गर्दै देशको अर्थतन्त्र डामाडोल पारियो। अहिले हाम्रो मुलुक ९८ प्रतिशत सामान विदेशबाट किनेर खाने चरणमा पुगेको छ। मिश्रित अर्थतन्त्र हुँदा राज्यले किसान, जनताहरूलाई राहत, अनुदान दिन्थ्यो। अहिले किसानलाई पीडा मात्र छ।

अहिले व्यवस्थाप्रति जनता अनुदार भएको भए त सोचेको जति मत खस्ने नै थिएन। व्यवस्थालाई यो गलत छ भन्दा सरकार बनाउने लक्ष्य छ। त्यसैले यो व्यवस्था प्रतिको सहभागितालाई हामीले ख्यालठट्टाका रूपमा लिने ? हाम्रो निर्वाचन प्रणालीमा सही र गलत भन्ने छैन। शासन गर्ने हैसियत नै नभएका सत्तामा र प्रतिपक्षमा बस्ने हैसियत नै नभएका मान्छे प्रतिपक्षमा छन्। यत्तिबेला सानो पार्टीले फुर्ती गरेर साँचो हातमा पारेको छ। यो संविधान अनुसार सरकार गठन भएको छ। जब समानुपातिक र समावेशीको कुरा राख्दा दुई तिहाइ आउँदैन तबसम्म सरकारले काम गर्न सक्दैन। कसैको पनि आफ्नो सिद्धान्त छैन। सबैको ध्यान भागबन्डामा गयो। पार्टीले संगठन निर्माण गर्ने गुन्डाको जस्तो जनतालाई थर्काउने ठूलो संगठन बनाउने जनतालाई थर्काउने भयो। बाँडेर खाऔं भन्ने मात्र भए। त्यो भन्दा कुनै सिद्धान्त छैन दलहरूसँग।

अहिलेको गठबन्धनलाई कसरी हेर्नु भएको छ ? अहिले नेपालका सबै नेताको मास्टरी नेपाली जनताले बुझिसकेका छन्। उनीले गणतन्त्र ल्यायौँ भने पनि मास्टर अरू नै छन्। केपी ओलीसहितको गठबन्धन दक्षिण र पश्चिमको समर्थनमा खडा भयो। मलाई राष्ट्रपति चुनावमा भारतले आफ्नो इच्छाएको व्यक्ति रोज्ला जस्तो लागेको थियो। सुरुमा खिलराज रेग्मीको नाममा हल्ला चलाइयो। कृष्ण सिटौला लगायतका नेताहरू जो इन्डियाका नजिकका थिए। त्यो अनुकूल नभएपछि दलभित्रकै पात्र रामचन्द्र पौडेललाई अगाडि सारेर इन्डियाले हिजोको नागरिकता विधेयकबाट पीडामुक्त हुन र राष्ट्रवादी शक्तिलाई देखाउन यो सहमति गरेको हो। यसो नगरेको भए प्रचण्डको दिल्ली भ्रमण पनि रोकिन्थ्यो।

राष्ट्रपति चयनमा विदेशी शक्तिको हात रह्यो अब यसले के गर्छ ? यसले नागरिकता विधेयक पास पर्छ, हरेक कुरामा विदेशीको हस्तक्षेप हुन्छ।

पूर्व राजा ज्ञानेन्द्र शाह अगाडि आएर शिर झुकाउने हो ? राजासँग सैन्य शक्ति हुन्छ। राजाले जनता र सेनालाई मिलाएर लाने हो। राजाले एउटा दया देखाउने हो। भव्यता देखाउने हो। राजाले समय आएपछि सर्टह्यान्ड देखाउने हो। अब राजाले बल देखाउने बेला आएको छ। त्यसमा जनता र बन्दुक बोक्नेको सहयोग हुन्छ।

तपाई राजसंस्था ल्याउनुपर्छ भन्नुहुन्छ तर मुख्य एजेन्डा यो भएको दल विस्तारै सेलाउँदै गयो नि ? हामी तितेपातीको बोटमा उखुको रस खोज्दैनौँ। गणतन्त्रमा राप्रपा वा कसैले धेरै भोट ल्याएर राजा फर्किने होइन। राजा निर्वाचनको विषय होइन। राजा निर्वाचन भन्दा धेरै माथि हो। पुरानो बाबु बाजेले बनाएको संस्था त्यागेर बाहिरीको कुरा मान्दा यो परिस्थिति आएको हो।

राजाको पदलाई राष्ट्रपति पदले रूपान्तरण गर्न सकेन ? भोट पाएको मान्छे राष्ट्रपति बन्ने हो। राजा सबैका साझा हुन्।

राजाले पद लिएर नै काम गर्ने हो त, बिना पद गर्न सकिँदैन ? राजाले राहत दिन जाँदा ढुङ्गा मुडा गरेको पनि देखिन्छ। अब हामीले दलका नेताहरूलाई तपाईँहरूले विदेशीको कुरा सुनेर देश बिगार्नु भयो, अब हामी सबै मिलेर देश विकास गरौँ भनेर राजाले भनेको हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता प्रस्तुति : पुष्पाञ्जली बस्नेत