अन्तर्वार्ता

सत्ता गठबन्धन स्वभाविक छ

By खबरहब

March 03, 2023

देशको समस्या एकातर्फ छ। जनताका दुःखहरू अर्को तिर छन्। तर राजनीतिक दल समीकरण बदलिरहेका छन्। प्रधानमन्त्री बन्नका निमित्त राष्ट्रपति चुन्नको निमित्त दलले गठबन्धन बदलिरहेका छन्। पुस १० मा बनेको समीकरण फागुन १२ नपुग्दै टुंगिएको छ। त्यो गठबन्धन के का निमित्त बनेको थियो ? समीकरण कसका निमित्त टुंगियो ? अहिले समीकरण के का निमित्त बन्दै छ भन्ने कुरा आम जनतालाई भन्नु पर्दैन। जनताका दुःख र राष्ट्रका दुखसँग त्यो समीकरणको साइनो कतै पनि हुँदैन। आखिर यस्तो किन भइरहेको छ। यस विषयमा आधारित रहेर नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व मन्त्री शेरबहादुर कुँवरसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश:

अहिलेको यो राजनीतिक गठबन्धन र परिस्थिति स्वाभाविक तथा अस्वाभाविक के हो ? विगतमा जुन गठबन्धन भएर चुनावमा लडेका थियो। त्यो गठबन्धन एकातिर रहेर सबै एकताबद्ध भएर विश्वासको मत दिएको हो। त्यसलाई आशंकाको रूपमा हेरेको थियो। त्यो आवश्यक नै छैन। अहिलेको गठबन्धनलाई स्वभाविक भन्नुपर्छ।

त्यसो भए अहिले स्वाभाविक गठबन्धन बन्यो ? त्यसलाई स्वाभाविक नै मान्नुपर्छ। चुनावमा एक ढङ्गले जानेपछि अर्को ढङ्गले जाने भन्ने कुरा हो। अप्राकृतिक ढङ्गले गठबन्धन गर्नु हुँदैन।

राजनीति भनेको जनताको दुःख समस्यामा अल्झिने विषय हो ? राष्ट्रपति निर्वाचन भइसकेपछि सबै दल देशको अर्थतन्त्र कसरी सुधार्ने भन्ने कुरामा चिन्तित हुनुपर्छ। मुख्य उद्देश्य भनेको जनतालाई सुख दिनु नै हो। सरकारलाई ठिक ठाउँमा ल्याउन प्रतिपक्ष बलियो हुनुपर्छ। जनताका जल्दो बल्दो समस्या एका तिर हुँदा खाली सरकारको विरोध मात्र गर्नु हुँदैन। प्रतिपक्षी दलले सरकारलाई रचनात्मक साथ दिनुपर्छ। देश तथा जनतामा आइपरेका समस्या र भविष्यमा आउनसक्ने समस्याको समाधानतर्फ लाग्नुपर्छ।

खुट्टा त उचालिसक्नु भएको छ। यो पार्टी कहिलेसम्ममा सरकारमा जान्छ ? नयाँ गठबन्धन बनेको छ। यो गठबन्धनबाट नै हामी निर्वाचित भएका हौँ। अब शक्ति बाँडफाँटको विषय टुंगो लागेपछि सरकारमा सहभागीताको कुरा आउँछ।

राष्ट्रपति निर्वाचन अगाडि तथा पछाडि जाने के हो ? सबै मिलेर अगाडि बढ्दा देशको विकास गर्न सकिन्छ। देश र जनताको हितमा काम गर्ने मौकाको रुपमा सत्तालाई लिनुपर्छ। हामी पनि आपसी समझदारीमा नै अगाडि बढ्न चाहन्छौँ। हामी सत्तामा जानु नजानु सबै कुरा राष्ट्रपतिको चुनावपछि सबै छुटिन्छ। हामी आठ दल छौ। तर सत्तामा एक दल मात्र रहेको छ।

सबैलाई प्रधानमन्त्रीमा पालो पुर्याउने खालको संसद् किन बन्यो ? जनमत पनि त्यही खालको देखिन्छ। तर अब गठबन्धन अगाडि बढेको छ। सबैलाई मिलाएर लाने कर्तव्य गठबन्धनमा संलग्न दलको हो। यो देशको विकास आफैंले गर्नुपर्छ।

अब उपराष्ट्रपति को बन्छ ? समस्याको समाधान सबै दलको छलफलबाट नै हुन्छ। आठ दलले कसलाई दिने भन्ने निर्णय गर्छन् त्यही अनुसार अगाडि बढ्छौ। विगतमा केही गल्ती भएका छन् जुन राष्ट्रपतिले अब सुधार गरेर अगाडि बढ्न सक्नुपर्छ।

अबको राजनीतिमा सबै एक भएका छन् जनताको चाहना पुरा होला त ? हुन्छ। हामी गरेर नै देखाउँछौँ। सत्ता समीकरणमा एक भएर अगाडि बढ्नुको विकल्प छैन। नेपाली समाज त्यति कमजोर छैन। यसलाई मध्यनजर गर्दै सरकार अगाडि बढ्नुपर्छ। राष्ट्र र जनताका समस्यामा केन्द्रित भएर दलले कुनै किसिमको बहस चलाउन सक्नुपर्छ। त्यसको आधारमा सरकारको आयु निर्धारण हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति: कुसुम गौतम