तस्वीर- एस जयशंकर/ट्विटर

अन्तर्राष्ट्रिय

आणविक हमलाको धम्की सह्य छैन : क्वाड

By खबरहब

March 03, 2023

काठमाडौँ- भारतको आयोजनामा क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड) मा सम्मिलित चार देशका विदेशमन्त्रीहरुको बैठक दिल्लीमा सम्पन्न भएको छ ।

भारत, अमेरिका, जापान र अस्ट्रेलियाका विदेशमन्त्री सहभागी बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा इन्डो–प्यासिफिकको विकासमा आफ्नो प्रतिबद्धता कायम रहेको जनाइएको छ ।

यसअघि भारतमै आयोजित जी २० का विदेशमन्त्रीको बैठकमा संयुक्त घोषणापत्र जारी भएको थिएन । बैठकका क्रममा क्वाडका सदस्य राष्ट्रहरूले आणविक आक्रमणको धम्की सह्य नभएको जनाएका छन् ।

क्वाडका विदेशमन्त्रीको बैठकमा जापानका विदेशमन्त्री योशिमासा हायासी पनि सहभागी भएका थिए । उनी जी २० का विदेशमन्त्रीको बैठकमा भने सहभागी भएका थिएनन् ।

बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, हयासी र अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ सहभागी थिए ।

बैठकपछि क्वाडमा सम्मिलित देशहरूले संयुक्त विज्ञप्तिमा स्वतन्त्रता, विधिको शासन, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूलाई दृढतापूर्वक समर्थन गर्ने उल्लेख गरिएको छ ।

बैठकमा स्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन र स्वच्छ ऊर्जा, प्रविधि, पूर्वाधार र कनेक्टिभिटी जस्ता समसामयिक चुनौतिहरूबारे छलफल भएको थियो ।