देश/प्रदेश

छ लेन सडकले फेरियो धनगढीको मुहार

By खबरहब

March 03, 2023

अत्तरिया – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ । धनगढीलाई जोड्ने छ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो । धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो । छ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ । धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको छ लेन राति पनि झलमल्ल हुने गरेको छ ।

छ लेन सडकमा पहिलो चरणमा छ दशमलव छ किलोमिटरमा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा बत्ती जडान गरिएको हो । उपमहानगरपालिका इन्जिनीयर दिजराज भट्टका अनुसार सडकबत्ती जडानका लागि रु दुई करोड ६९ लाख ५८ हजार चार सय १० खर्च भएको छ ।

उपमहानगरको रु एक करोड ६१ लाख ७५ हजार ४६ र नेपाल विद्युत् प्राधिकरणको एक करोड सात लाख ८३ हजार तीन सय ६४ लगानीमा बत्ती जडान भएको हो । छोटो समयमा धनगढीको बत्ती जडान भएको नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका प्रमुख श्रीराम पोखरेलले बताए। “धनगढीमा नगरप्रमुखको सक्रियताले बत्ती बलेको छ”, उनले भने , ‘नमूनाका रूपमा काम भएको छ । अन्य ठाउँका लागि पनि सिकाइ हुनसक्छ ।”

उहाँले सम्झौता भएको छदेखि सात महिनामा बत्ती बाल्न सकिएको बताउनुभयो । “उज्यालो बढी, महसुल पनि कम आउँछ”, उनले भने, “रात कम बेलुका एकदम चम्किलो र लुक्स पनि राम्रो हुन्छ, त्यसले गर्दा विभागले स्मार्ट फिचर राखेको हो ।”

धनगढीमा पहिलो चरणको सडक बत्ती जडानको काम पूरा भएको हो । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडकबत्ती जडानको काम पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताए । “धनगढी प्रदेशको राजधानी हो । यहाँ प्रवेश गर्ने बित्तिकै नागरिकलाई केही नयाँपनको अनुभूति होस् भन्ने हेतुले छ लेन सडकमा सुरुआत भएको छ”, उनले भने, “उपमहानरगरको १९ वटै वडालाई उज्यालो बनाउनुछ ।” उनले सडकमा बत्तीमात्र नभई ‘ग्रिनबिल्ड’ समेत बनाउने उद्देश्य रहेको बताए ।

उपमहानगरभित्रको क्षेत्रमा रातको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दूरीमा स्मार्ट सडकबत्ती जडान गरिएको नगरप्रमुख हमालले जानकारी दिए । सडकमा पहिलो चरणमा दुई सय १६ पोलमा चार सय ३२ वटा लाइट जडान गरिएको छ । स्मार्ट सडकबत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ ।

दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गर्ने भएको छ । दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान गर्ने लक्ष्य रहेको छ ।

छ लेन सकडलाई हरियाली बनाउने उद्देश्यका साथ बोटबिरुवा तथा फूलहरूको रोपण कार्यलाई पनि तीव्र पारिएको छ । सडक निर्माणका साथै सडक बत्तीले शहरको सौन्र्दय थपिएको धनगढी–३ का जयराज भट्टले बताए। “धनगढी ठूलो सिटी भइसक्यो”, उनले भने, “सडक पूर्वाधार निर्माण हुँदैछन् । तर, नागरिकहरू भने अझै जागरुक भएका छैनन् ।” केही महिना अगाडि धनगढीका सडकमा यत्रतत्र देखिने फोहरसमेत अहिले देखिन छाडेको उनले बताए ।

धनगढीको छ लेन सडक केही फिनिसिङबाहेक काम सम्पन्न भएको छ । यस सडकअन्तर्गत पर्ने सुनिखोला पुल, मनहरा खोला र मोहनामा पुल निर्माण कार्य जारी छ । सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य अत्तरिया–धनगढी सडकखण्डमा दैनिक सानाठूला चार हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ ।