फाइल फोटो

समाचार

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा

By खबरहब

March 03, 2023

सुर्खेत– कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेशबाहिर कुनै पनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था थियो । अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि सहज हुने भएको छ ।

शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईंले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरे । सो क्रममा उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए ।

उनले प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रका रूपमा पनि विकसित गर्न लागिने जानकारी दिए ।

प्रयोगशालाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्यसम्बन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए । उनले अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गरे । उनका अनुसार अब रोगको परीक्षण गर्न बाहिर जानुपर्ने छैन ।

प्रयोगशालामा नौ जना प्राविधिकको दरबन्दी भए पनि हाल तीन जना मात्रै पूर्ति भएको छ । अन्य गरी कूल १६ जना जनशक्ति छन् । प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, सङ्क्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए ।

उनले प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने उल्लेख गरे । दुर्गम तथा पिछडिएको क्षेत्रका जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने गिरीले बताए ।

सो प्रयोगशालामा अन्यत्र भएका झण्डै आधा रकममा रगत, दिसा पिसाब, खकारलगायतको परीक्षण हुने जनाइएको छ । सो अवसरमा निवर्तमानमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले प्रयोगशालाको स्तरोन्नतिमा ध्यान दिइने जनाएका थिए ।