फाइल फोटो

राजनीति

राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति अस्पतालमा

By खबरहब

April 03, 2023

काठमाडौँ – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान सो अस्पताल पुगेका हुन् । उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ । अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।