फाइल फोटो

राजनीति

उपचुनाव केही नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाऔँ : बाबुराम भट्टराई

By खबरहब

April 03, 2023

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न नहुने बताएका छन् ।

वैशाख १० गते उपनिर्वाचनका लागि तनहुँ–१, चितवन–२ र बारा–२ मा उम्मेदवारी दर्ता हुनुअघि उनले सामाजिक सञ्जालमार्फत विचार पुर्‍याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै भट्टराईले उपचुनाव केही नेतालाई सत्तामा पुर्‍याउन लाइसेन्स दिने कर्मकाण्ड नभएको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग झण्डै १५ हजार मतान्तरले पराजित यादव यसपटक बारा-२ बाट उपचुनाव लड्न थालेपछि भट्टराईले आपत्ति जनाएका हुन्।

‘चुनाव केही वर्ष-महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव-उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँ।’ उनले ट्वीटरमा लेखेका छन्।