अन्तर्वार्ता

राज्यले पत्रकारलाई कमजोर बनाउँनु हुँदैन

By खबरहब

May 03, 2023

सामाजिक सञ्जाल प्रयोगको व्यापकतासँगै यसले आम सञ्चारलाई विस्थापित गर्दैछ। विशेष गरेर सूचना र सञ्चारका निमित्त अब मानिस सामाजिक सञ्जालमा भर पर्दै गएको छ। धारणा निर्माणका निमित्त पनि मूलधारे मिडिया भन्दा यस्तै सामाजिक सञ्जालमा मानिस भर पर्ने गरेका छन्। अहिलेको मिडियाको अवस्था के हो ? राज्यले मिडियालाई कसरी हेर्नुपर्छ ? यी र यस्तै समसामयिक विषयमा आधारित रहेर डिजिटल पत्रिका बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

आम सञ्चारलाई सामाजिक सञ्जालले विस्थापित गर्दै गएको हो ? सामाजिक सञ्जालको विषयमा कुरा गर्दा माध्यम र विचारको हिसाबले सोच्नु पर्ने हुन्छ। माध्यमको हिसाबमा सामाजिक सञ्जाल एक माध्यम नै हो। पहिला नेपालमा सुरुमा छापा, रेडियो र टेलिभिजन माध्यम थिए। विस्तारै अनलाइन समाचार माध्यम भएर सामाजिक सञ्जाल पनि माध्यम भएको हो। माध्यमले सूचना प्रवाह बढी भन्दा बढी गर्न सहज बनाएको छ। गाउँ सहर जहाँ बसेको मान्छेलाई सहज बनाएको छ। अहिले धेरै माध्यम भएकाले मान्छे पनि आत्तिएर प्रयोग गर्ने के प्रयोग नगर्ने के भनेर दोधारमा छन्। सबै चिज परिवर्तन भएको छ। तपाईंको विश्वासनीयतामा खोट लाग्नु हुँदैन। त्यसलाई सत्य रूपमा लिने ठूलो आधार हुन्छ।

के अहिलेका माध्यमको औचित्य विस्तारै सकिएर इतिहासको पानामा मात्र सीमित रहन्छन् ? माध्यम विस्तारै कमजोर हुँदै जान्छन्। सबै माध्यमको अन्त्य हुन्छ वा हुँदैन थाहा हुँदैन। छापा मिडियामा त्यत्ति धेरै प्रेस छन्। त्यहाँ ठूलो म्यानपावर लागेको छ। त्यसको अन्त्य हुन्छ भनेर सहजै भन्न सकिँदैन। नयाँ नयाँ सूचनाको विकास भइरहने हुन्छ। साप्ताहिक पत्रिका अझ छापिइरहेको छ। तर यत्ति भन्न सकिन्छ अब पत्रपत्रिका कम हुँदै जाने सम्भावना छ। अब युट्युब कि टेलिभिजन माध्यम हो ? भन्ने विषयमा आज भन्दा १५-२० वर्ष अगाडि नै बिल गेट्सले भनेका थिए, ‘अब माध्यम भन्ने कुरा केही पनि रहँदैन सबै कुरा एउटा मोबाइलमा आउँछ।’ यो विषय २००३ मा एउटा इस्युमा लेखिएको थियो। उनले भनेको कुरा अहिले लगभग प्रमाणित भइसकेको छ।

असल पत्रकार बन्न कस्ता कार्य योजना अपनाउनुपर्छ ? नेपालमा मात्र होइन संसारमा नै सरकारले पत्रकारिता गर्न चाहनेलाई छुट दिनुपर्छ। पत्रकारिता गर्नु भनेको समाजलाई चाहिने सूचना जनतालाई दिनु हो। जनताको समस्या राज्यसम्म पुर्याउनु पत्रकारको कर्तव्य हो। कुनै व्यक्तिले काम गर्दागर्दै गल्ती भएमा कारबाही हुन्छ। पत्रकारले नियम कानुन र आचारसंहितामा बस्नुपर्छ। जनताको विश्वास जित्न सक्यो भने ‘टप’ पत्रकार हुन सक्छ। पत्रकारले सरकारबाट राम्रो सुविधा पाएको हुन्छ। त्यसको पालना गर्न पत्रकारले सक्नुपर्ने हुन्छ। उसको माध्यम सफल बनाउने पत्रकार आफ्नै हातमा रहेको हुन्छ। हरेक मान्छे फोटो खिच्दैमा पत्रकार नै सोच्ने हुन्छन्। हिजो एउटा पत्रिका छाप्नको लागि हप्ता दिन लाग्ने थियो। अहिले यावत विकृति पनि छन्। यसलाई सुधार गर्न सक्नु नै पत्रकारको नैतिकता हो।

मुलधारका मिडिया तथा सञ्चारलाई यस्ता विकृतिबाट बचाउने उपाय के कस्ता रहेका छन् ? पत्रकारको रूपमा जो कोही आउँछन् भने आचारसंहिता सबैले पालना गरेर आउनुपर्छ। त्यो वातावरण बनाउनुपर्छ। मूलधारको मिडिया भनेर यो कुनै फरक होइन। आजको दिनमा जनतालाई के कस्ता सञ्चारले प्रभाव पारेको छ त्यो नै मुलधार हो। जुन मुलधार छ त्यसलाई जिम्मेवार कसरी बनाउने भन्दा पनि त्यसले सही रूपमा प्रभाव पारेको छ छैन भन्ने कुरा हेर्नुपर्छ। त्यसलाई नियमन गर्न सकिन्छ या सकिँदैन भन्ने कुरा हो। त्यस कारण मुख्य निकायमा दर्ता भएर आउनुपर्छ। त्यसमा पाँच जना भन्दा कम भएमा पनि नियम पालना गर्नुपर्ने हुन्छ। पत्रकारले सूचना विभागको पास लिनुपर्छ। सम्पादक को हो ? कति पढेको हो ? अन्य जानकारी लिएर युट्युब चल्छ भने त्यो सही हो। युट्युब आफै माध्यममा खराब भने होइन। कुनै माध्यमलाई बन्देज गर्ने होइन र पत्रकारले नियम पालना गर्न सक्नुपर्छ। पत्रकारले गर्ने निर्णय भनेको आफू जिम्मेवार भएर अगाडि बढ्नुपर्ने हुन्छ। राज्यले नियमन गरे पनि पत्रकारलाई कमजोर हुन दिनु हुँदैन।

मुलधारको संरक्षणका लागि के कस्ता कदम चाल्नुपर्ने हुन्छ ? आफ्नो सीमा र जिम्मेवारीमा मिडियाले ध्यान दिनुपर्छ। सरकारी कार्यालयले तथा मुलधारे मिडियाले नै कार्य योजनामा विशेष ध्यान दिनुपर्छ। देशमा कर्मचारीलाई दिने तलब नभएको ठाउँमा त्यहाँ मिडिया कसरी चल्ला ? सबै पक्षमा आधारित रहेर समाजलाई आफै आधार मानेर त्यसमा परिवर्तन गर्नुपर्छ। आजसम्म पनि बीबीसीलाई बेलायतको सरकाले पैसा दिएर सुरक्षित राखेको छ। सबैको आ–आफ्नो नियम रहेको हुन्छ। त्यसलाई पालना गर्न सक्नुपर्छ। कसैको सर्पोट बिना चलेका विज्ञापनको माध्यमबाट चलेका मिडियालाई डलर खायो होला अन्य अन्य गाली गरेको अवस्था रहेको हुन्छ। त्यो पाठकहरूको काम हो त्यो सोच विचार गरेर बोल्दा राम्रो हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति: कुसुम गौतम