फाइल तस्वीर

राजनीति

स्वदेशी उत्पादनलाई बढवा दिने नीति र कार्यक्रममा ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

By खबरहब

May 03, 2023

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउन भूमिका खेल्न आयोगसमक्ष अनुरोध गरे ।

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिरा नेपालको बजारमा प्रशस्त रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । उनले स्वदेशी उत्पादन धेरै राम्रा भए पनि बजारीकरण गर्न नसकिएको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे ।

भेटमा उपाध्यक्ष डा श्रेष्ठले आन्तरिक उत्पादन बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उनले स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।