फाइल फोटो

ब्रेकिङ स्टोरी

देशभर अत्यधिक गर्मी हुने, तराइका भूभागमा लु चल्ने  

By खबरहब

June 03, 2023

काठमाडौँ – आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ। साथै तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहे पनि सक्रिय नहुँदा गर्मी बढेको हो। महाशाखाकाअनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो  देशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनेछ।

राती भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।