देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

June 03, 2023

 दिनभर आजमा भारत भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता,सरुवा-बढुवाका लागि अनुचित लाभ नलिन आग्रह, जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने, नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह, गरिबी अन्त्य गर्न प्रविधिको प्रयोगमा ध्यान दिन आवश्यक, मेरो राजनीतिक जीवनमाथि षड्यन्त्र रचियो, ‘अब सभापति हुन्न, कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ’,मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुरमा वृद्धिलगायतका विषयले विशेष स्थान पाए ।

भारत भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

उनले भारतीय समकक्षी नरेन्द्र मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।

सरुवा-बढुवाका लागि अनुचित लाभ नलिन आग्रह

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन्। उनले एक कार्यक्रममा आज लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै त्यसो गर्नेहरूलाई कारबाही हुने उनले प्रस्ट पारे। ‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो। विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु। खबरदार१ कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु’ उनले भने।

मुलुक यसरी नचल्ने बताउँदै उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने बताए। आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले बताए।

रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनुपर्‍यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए । ‘त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ। सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ। शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिनपरो भन्नुहुन्छ,’ उनले भने, ‘त्यसो त हुन्न भन्दा तपाईंले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ। १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ।’

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताए।

जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ ।

उद्योग वाणिज्य सङ्घ धनुषामा आज भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए ।

उनले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताए ।

त्यस अवसरमा मधेस प्रदेशसभा सदस्य रामसरोज यादव राष्ट्रपतिको भ्रमणलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारलाई पहलकदमी लिन प्रयास गरिने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले धनुषाका सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यहरूसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि तिरहुतिया गाछीमा हुने भव्य स्वागत र नागरिक अभिनन्दनको तयारी गर्ने निर्णय गरिएको बताए ।

बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मूल समारोह समितिको निर्णयअनुसार जनकपुरधामको एउटा चोकमा राष्ट्रपतिद्वारा झन्डा फहराइने निर्णय गरिएको साहले जानकारी दिए । जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि तिरहुतिया गाछीसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिनन्दन गर्न सबै दलले आआफ्ना कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गरिने निर्णय भएको छ ।

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् ।

भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्। उनले भने, ‘टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ । लगानी गर्नुस् त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौँ ।’ प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए ।

सोही क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे । ‘नेपालको ‘आइटी सेक्टर’मा पर्याप्त जनशक्ति छन् लगानी गर्न आउनुस् हामी स्वागतका लागि आतुर छौँ’, उनले भने ।

भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दाबढी मुलुकमा काम गर्दै आएको छ । उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन् । इन्डौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरुसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत पुगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशस्थित इन्दोर पुगेका हुन् ।

उनले भनेका छन्, ‘मविरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोलकल्पित र झुटा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन निजोजित रूपमा राज्यले रचेको षड्यन्त्र हो ।’

खाणले नक्कली भुटानी शरणार्थी प्रकरणका पीडित तथा जाहेरीकर्तालाई नचिनेको पनि बताएका छन् । उक्त प्रकरणमा आफ्नै कहीँकतै संलग्नता नरहेको जिकिर गरेका खाँणले प्रतिवेदन फेरबदलमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

मेरो राजनीतिक जीवनमाथि षड्यन्त्र रचियो : खाँण नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको भनी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधको अभियोग लागेका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा खाणले व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यबाट नै षड्यन्त्र रचिएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘मविरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोलकल्पित र झुटा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन निजोजित रूपमा राज्यले रचेको षड्यन्त्र हो ।’

खाणले नक्कली भुटानी शरणार्थी प्रकरणका पीडित तथा जाहेरीकर्तालाई नचिनेको पनि बताएका छन् । उक्त प्रकरणमा आफ्नै कहीँकतै संलग्नता नरहेको जिकिर गरेका खाँणले प्रतिवेदन फेरबदलमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

गरिबी अन्त्य गर्न प्रविधिको प्रयोगमा ध्यान दिन आवश्यक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरिबी अन्त्य गर्न विज्ञान र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन्।

ललितपुरस्थित पार्टी मुख्यालयमा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उनले विज्ञान र प्रविधिको प्रयोग गर्न सके मुलुकमा विकास तीव्र गतिमा हुने बताए ।

उनले विज्ञानका नियमलाई प्रविधिमा विकास गरेर उत्पादन बढाउन सकिने धारणा राखे ।‘विज्ञानका नियम पत्ता लगाउने र त्यसलाई प्रविधिमा रूपान्तरण गरेर विकासका लागि प्रयोग गर्नुपर्दछ’, उनले भने, ‘प्रविधिको विकासले हाम्रो आजको पछौटेपनलाई अगाडि बढाउँछ । कम उत्पादनलाई तीव्र वृद्धिमा लैजान्छ । छोटो धीमा गतिलाई तीव्रता दिन्छ । कम सामर्थ्यलाई बढी सामर्थ्यमा परिणत गर्दछ ।’

उनले विज्ञानको नियमअनुसार प्रविधिको विकास हुनुपर्ने भन्दै विज्ञानलाई रूपान्तरणमा परिवर्तन गर्न ‘इनोभेसन’ आवश्यक रहेको बताए। अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल र सुखी नेपाल’ भन्ने शब्द कुनै सरकार र प्रधानमन्त्रीले उच्चारण गर्न आँट नगरेको बताए ।

उनले कुनै व्यक्ति नभई सिङ्गो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको उल्लेख गरे । अध्यक्ष ओलीले आफूहरूले मानव र समाजको विकास गर्न खोजेको भ बताए ।

‘अब सभापति हुन्न, कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताएका छन् ।

नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले भने “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु ।”

उनले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताए ।

कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।

भ्रष्टाचारविरुद्ध सशक्त अभियान थालौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन्।

विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको उल्लेख गर्दै पार्टी स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याएका छन्।

“भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ। अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका कदम अगाडि बढाएको छ”, उपमहासचिव पोखरेलले भने, “अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ। भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्तरुपमा सङ्घर्ष गर्न जरुरी छ।”

माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वशिक्षामन्त्री समेत रहेका पोखरेलले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत उनले सुझाए।

“हामीले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई महत्वका साथ अगाडि बढाए मात्रै हामी अगाडि बढ्न सक्छौँ”, उपमहासचिव पोखरेलले भने, “यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ। म त्यसलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्न सबैमा आग्रह गर्न चाहन्छु।”

दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उनको भनाइ छ। “पार्टीले अघि सारेको कार्यदिशा सफल पार्न उच्च, माध्यमिक र आधारभूत तह गरी तीन तहको पार्टी स्कुल कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने।

पार्टी स्कूल कार्यक्रमलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने उनले बताए। “पछिल्लो समय सामाजिक सञ्जाल हेरेर नेता तथा कार्यकर्ताले आफ्नो अवधारणा बनाउने गरेका छन्। फेसबुके विश्लेषणले काम दिँदैन”, उनले भने, “अहिले राष्ट्र र राष्ट्रियतामाथि विभिन्न क्षेत्रबाट हमला भइरहेको छ। यसलाई संरक्षण गर्न सबै नेता तथा कार्यकर्ता गम्भीर हुन जरुरी छ।”

सो अवसरमा अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राई, बाम विश्लेषक एवं पूर्वसांसद हरि रोका, संविधानसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, डाक्टर धनप्रसाद सुवेदी, ध्रुव श्रेष्ठ, रमेश सुनुवार र रामदीप आचार्यलगायतले सहजीकरण गरिरहेका छन्।

कार्यक्रममा पार्टीको वैचारिक, राजनीतिक र सङ्गठनात्मक कार्यदिशा, पहिचान र सङ्घीयता, संस्कृति र सांस्कृतिक रुपान्तरण, समावेशिता र समानुपातिक नीति, स्थानीय सरकार सञ्चालन ऐन, राजनीतिक अर्थशास्त्र, दर्शनशास्त्रको अवधारणा र मार्क्सवादी दर्शनलगायतका बारेमा कक्षा सञ्चालन भइरहेको माओवादी केन्द्र खोटाङका जिल्ला समन्वय समिति संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए।

जिल्ला समन्वय समितिको सभाहलमा जारी कार्यक्रममा पार्टीको जिल्ला समन्वय समिति, स्थानीय तहका पार्टी प्रमुख तथा प्रतिनिधि, पार्टीबाट निर्वाचित दश वटै स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम समापनपछि सहभागी नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा गएर पार्टी स्कुल कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाइएको छ।

ओडिशा रेल दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको ओडिशामा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

चार दिने भारत भ्रमणको चौथो तथा अन्तिम दिनमा मध्यप्रदेशमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार भएको रेल दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति दुख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, सरकार र शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुरमा वृद्धि सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सुर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र  र नवीकरण दस्तुर बढाएको छ ।

आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मदिरा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर रू ५५ हजारले बढेको हो । यसअघि यस्तो शुल्क रू एक लाख ९५ हजार बराबर रहेकामा त्यसलाई बढाएर रू दुई लाख ५० हजार पुर्‍याइएको छ ।

वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क रू चार हजारले बढाएर रू एक लाख पुर्‍याइएको छ । चुरोट उत्पादन गर्ने प्रतिष्ठानलाई रू दुई लाख ४० हजार इजाजत तथा नवीकरण दस्तुर लाग्दै आएकामा त्यस्तो शुल्क रू तीन लाख पुगेको छ ।

मदिरा बिक्रीवितरणका लागि होटल, रेस्टुराँ, रिसोर्ट, बारले लिने इजाजत तथा नवीकरण दस्तुर पनि बढेको छ । यस्तो शुल्क यसअघि पाँच तारे होटललाई रू ६० हजार रहेकामा रू ७५ हजार, चारतारे होटललाई रू ४८ हजार रहेकोमा ६० हजार र तीन तारे होटललाई रू ३६ हजार रहेकामा ४५ हजार बनाइएको छ । दुई तारेलाई रू २४ हजार रहेकामा रू ३० हजार र एक तारेलाई रू १२ हजार रहेकामा रू १५ हजार पुर्‍याइएको छ ।

स्वदेशी तथा विदेशी मदिरा बेच्ने पर्यटकस्तरको रेस्टुरेन्ट, रिसोर्ट तथा पार्टी प्यालेसले इजाजत तथा नवीकरणका लागि रू आठ हजार पाँच सय तिर्दै आएका थिए । अहिले त्यो बढेर रू ११ हजार पुगेको छ । साधारण होटल, रेस्टुरेन्ट, बार तथा लजका लागि रू चार हजार पाँच सय बराबर शुल्क रहेकामा रू छ हजार पुर्‍याइएको छ ।

मदिरा वितरकलाई यस्तो शुल्क रू ३६ हजार बराबर रहेकामा बढेर रू ४५ हजार पुगेको छ । त्यस्तै मदिराको थोक बिक्रेतालाई रू २४ हजार दस्तुर लाग्ने गरेकामा रू ३० हजार पुर्‍याइएको छ ।

मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताको इजाजत लिन तथा त्यस्तो इजाजत नवीकरण गर्दा लाग्ने शुल्क पनि बढेको छ । यस्तो इजाजत तथा नवीकरणका लागि रू १२ हजार शुल्क लाग्ने गरेकामा अब रू १५ हजार शुल्क लाग्नेछ । त्यस्तै, डिपार्टमेन्टल स्टोरले रू २४ हजार शुल्क तिर्दै आएकामा रू ३० हजार तिर्नुपर्नेछ । विदेशी मदिरा तथा स्प्रिट आयातकर्ताको अनुमति लिन तथा त्यस्तो अनुमतिपत्रको नवीकरणका लागि रू ४८ हजार शुल्क लाग्दै आएकोमा रू ६० हजार पुगेको छ ।

विदेशी चुरोट तथा सिगार, सूर्तीजन्य पदार्थ आयातकर्तालाई रू ४८ हजार बराबर शुल्क लाग्दै आएको थियो । त्यसलाई बढाएर रू ६० हजार तोकिएको छ । त्यस्तै, पान मसला, चुरोट, खैनी, जर्दा, नश, तथा सुर्तीजन्य वस्तुका थोक बिक्रेताको लाइसेन्स तथा नवीकरणका लागि रू सात हजार दुई सय लाग्दै आएकामा अब रू १२ हजार शूल्क लाग्नेछ । यस्ता वस्तुको खुद्रा बिक्रेताका लागि रू दुई हजार शुल्क लाग्दै आएकामा अब रू तीन हजार लाग्नेछ । पान मसला, खैनी, जर्दा, नश, चुरोट बाहेकका सूर्तीजन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानका लागि रू एक लाख २० हजार लाग्दै आएकामा अब रू दुई लाख लाग्नेछ ।

थप ४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।

यस बीचमा २ जना डिस्चार्ज भएका छन भने १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन ।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।