फाइल तस्वीर

समाचार

नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी छ : सभामुख घिमिरे

By खबरहब

June 03, 2023

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताएका छन् । फोकस नेपाल संस्थाले आज यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घ संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले नेपाल गरिबीको चपेटामा रहे पनि भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताएका हुन् ।

“नेपाल जाति, भाषा, कला, संस्कृतिलगायतका हिसाबले समुन्नत छ, यसको प्रचारप्रसार गर्ने काममा सामाजिक सङ्घ संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ”, उनले भने । निःस्वार्थ सेवाभावका साथ सामाजिक सङ्घ संस्थाले काम गर्नुपर्ने उनको भनाइ थियो ।

सभामुख घिमिरेले समाजसेवा महान कार्य भएकाले त्यसमार्फत समाजलाई माथि उठाउन सकिने बताए । उनले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गरे ।

सभामुख घिमिरेले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको भन्दै त्यसको सदुपयोग गर्न सबै लाग्नुपर्ने बताए। फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घ संस्थाले नजिक बनाएको बताए। सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।