अन्तर्राष्ट्रिय

ओलम्पिकमा सानदार पुनरागमनको कथा

By मनोज घिमिरे

September 03, 2023

सन् २०२१ को टोकियो ओलम्पिक अमेरिकाका लागि धेरै अर्थमा दुखद थियो। केही नसोचिएको परिणाम अमेरिकाले सामना गरेको थियो। अमेरिकाकी स्टार जिम्न्यास्ट सिमोन बाइल्सले महिला टिम इभेन्ट जारी रहँदा खेल छाडेपछि नसोचिएको धक्का लागेको थियो। स्वर्ण पदकको दाबेदार अमेरिका सो स्पर्धामा रजत पदकमा सीमित भएको थियो।

सो स्पर्धामा रुस पहिलो तथा बेलायत तेस्रो भएका थिए। उनले अन्य तीन स्वर्ण पदक जित्ने अपेक्षा गरिएको थियो। त्यसपछि उनले ती कुनै पनि स्पर्धामा सहभागिता जनाइनन्। उनले मानसिक स्वास्थ्यको समस्या बताएकी थिइन्। संयोग मान्नु पर्छ महिला अलराउण्डमा भियतनामको आप्रवासी पारिवारिक पृष्ठभूमि भएकी सुनी लीले स्वर्ण पदक जित्दै अमेरिकी साख जोगाएकी थिइन्।

टोकियो ओलम्पिकको दुखद समय बिर्सँदै तिनै बाइल्स अहिले फेरि जिम्न्यास्टिकमा फर्किएकी छिन्। अलराउण्डमा स्वर्ण पदक जित्दै उनले सो स्पर्धामा सबै भन्दा धेरै ८ पटक राष्ट्रिय च्याम्पियन हुने कीर्तिमान समेत कायम गरिन्।

यस पटकको अमेरिकी च्याम्पियनसिपमा बाइल्सले एकै रात तीन स्वर्ण पदक जितेकी हुन्। ब्यालेन्स बिम र फ्लोरमा स्वर्ण पदक जित्दै उनले यस अघि तीन स्पर्धामा अलफ्रेड जोचिमले सात पटक राष्ट्रिय च्याम्पियन बनाएर राखेको कीर्तिमानलाई भङ्ग गरेकी हुन्। सन् २०१३ मा सिनीयर स्पर्धामा सहभागिता जनाउन सुरु गरे पछि उनले २७ उपाधि सहित ३५ अमेरिकी राष्ट्रिय च्याम्पियनसिपमा पदक जित्न सफल भएकी छिन्।

यो वर्ष अमेरिकी प्रभाव रहेका दुई प्रमुख खेल पौडी र एथलेटिक्सका विश्व च्याम्पियनसिप भए। यसैगरी जिम्न्यास्टिकको राष्ट्रिय च्याम्पियनसिपसमेत आयोजना भयो। यी तीन खेलले आगामी वर्षको पेरिस ओलम्पिकमा अमेरिका कुन पथमा जाने भन्ने अनुमान गर्ने आधार तयार भएको छ।

एथलेटिक्समा अमेरिकाको प्रदर्शन अपेक्षाकृत नै भएको थियो। पौडीमा सोचे भन्दा कमजोर भए पनि धेरै स्पर्धामा रजत पदक जितेका कारण अर्को वर्षका लागि केही आधार भने तयार भएको छ।

बाइल्सको उदय सन् २०१३ मा भएको हो। त्यो वर्ष भएको विश्व च्याम्पियनसिपमा उनले दुई स्वर्ण पदक जितेकी थिइन्। त्यस दुईमा प्रतिष्ठित अलराउण्डको स्वर्ण पदक पनि समावेश थियो। सन् २०१४ र २०१५ को विश्व च्याम्पियनसिपमा उनले चार चार नै स्वर्ण पदक जितिन्।

सन् २०१६ को रियो ओलम्पिकमा उनी स्टार भइसकेकी थिइन्। टिम, अलराउण्ड, फ्लोर र भल्टमा स्वर्ण पदक जितेकी उनले बिममा कास्य पदक जितिन्।

जिम्न्यास्ट बन्न लायक शारीरिक बनावट तथा लगातारको कठोर मेहनतका कारण उनी टोकियो ओलम्पिकसम्म अपराजित झैँ नै थिइन्। उनलाई युसेन बोल्ट र माइकल फ्लेप्ससँग तुलना गर्दा उनले भनेकी थिइन्, ‘म अर्को माइकल फ्लेप्स या बोल्ट होइन। म पहिलो सिमोन बाइल्स हुँ।’

सन् २०२१ को टोकियो ओलम्पिकपछि बाइल्सको खेल जीवन अन्त्य भएको अनुमान गरेर निराश भएका उनका समर्थकका लागि यो एउटा ठुलो खुसीको विषय भएको छ। बाइल्सको पुनरागमनले अमेरिकी टोलीमा ठुलो उत्साह थपिएको छ। ‘यो एउटा रोमाञ्चक क्षण हो,’ अमेरिकी राष्ट्रिय जिम्न्यास्टिक टोलीकी सदस्य जेड क्यारीले भनेकी छिन्।

टोकियो ओलम्पिकपछि बाहिरिएको सुनी ली पनि फर्किएकी छिन्। लीले अलराउण्डमा रजत पदक जितेकी छिन्। उनी मिर्गौलामा आएको समस्याका कारण बाहिरिएकी थिइन्।

टोकियो ओलम्पिकको एक महिनापछि बाइल्सले टिम चिकित्सक लेरी नाजरले दुर्व्यवहार गरेका कारण मानसिक समस्यामा परेको बताएकी छिन्। उनले जिम्न्यास्टिक भन्दा जीवन महत्त्वपूर्ण भएको बताएकी छिन्। उनले सोही समयमा आफू खेलमा फर्कने प्रशिक्षकलाई भने बताएकी थिइन्। यस च्याम्पियनसिपको एक महिना अघि उनले आफू सबै कुरामा ठिक भएको प्रतिक्रिया दिएकी थिइन्।

यो वर्ष अमेरिकी पौडीबाज केलेब ड्रेसेल पनि फर्किएका छन्। सन् २०१३ मा जुनयिर विश्व च्याम्पियनसिपमा सफलता पाएका उनले बिचमा केही समय पौडी खेल छाडेका थिए। सन् २०१६ मा रियो ओलम्पिकमा फर्किएका उनले दुई रिलेमा स्वर्ण पदक जितेका थिए।

सन् २०१७ देखि सन् २०२१ सम्ममा त उनले एक सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाई तथा ५० मिटर बटरफ्लाईमा तहल्का मच्चाएका थिए।

सन् २०२२ को विश्व च्याम्पियनसिपमा एक स्पर्धामा स्वर्ण पदक जितेपछि उनले प्रतियोगिता त्यागेका थिए। उनले पनि मानसिक स्वास्थ्यको समस्या देखाएका थिए। यस वर्षको विश्व च्याम्पियनसिपका लागि भएको अमेरिकी छनोटमा उनले सहभागिता त जनाएका थिए। त्यसको एक महिनापछि उनले सन् २०२८ को लस एन्जलस ओलम्पिकसम्म पौडीमा सक्रियता जनाउने बताएका छन्। उनले पनि अर्को वर्ष हुने ओलम्पिकमा पुनरागमन गर्ने अनुमान गरिएको छ।

यसैवर्ष बेजोड ढङ्गले फर्किएकी छिन्, साकारी रिचर्डसन। हंगेरीको बुढापेस्टमा यसै महिना भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा उनले १ सय मिटरमा स्वर्ण पदक तथा दुई सय मिटरमा कास्य पदक जितिन्।

महिला १ सय मिटरमा अमेरिकाको यो लामो समय पछिको सफलता हो। सन् २००७ यता सो स्पर्धामा जमैकाको दबाब रहँदै आएको थियो।

उनको खेल जीवन पनि विवादास्पद थियो। टोकियो ओलम्पिकका लागि भएको अमेरिकी छनोटमा पहिलो भएकी उनले लागूपदार्थ सेवन गरेको आरोपमा प्रतिबन्धित भएपछि ओलम्पिक गुमाएकी थिइन्।

यी तीन खेलाडीको पुनरागमनले माइकल फ्लेप्सको पुनरागमनलाई सम्झाएको छ। सन् २००७ देखि ओलम्पिकमा प्रभाव जमाएका फ्लेप्सले सन् २०१२ को टोकियो ओलम्पिक पछि सन्याषको घोषणा गरेका थिए। फ्लेप्सले सन् २०१५ को अमेरिकी च्याम्पियनसिपमार्फत पुनरागमन गरेका थिए। फ्लेप्सले टोकियो ओलम्पिकपछि सन्यासको घोषणा गर्दा खेलमा फर्कने कुनै सम्भावना नै नभएको प्रतिक्रिया दिएका थिए।

अमेरिकी च्याम्पियनसिपमा उनले एक सय मिटर बटरफ्लाईमा त्यो वर्षकै उत्कृष्ट समयमा पौडेका थिए। संयोग मान्नुपर्छ अर्को वर्ष रियोमा भएको ओलम्पिकमा फ्लेप्सले अन्य ५ स्पर्धामा स्वर्ण पदक जितेका थिए भने एक सय मिटर बटरफ्लाईमा रजत पदकमा चित्त बुझाएका थिए।

रियो ओलम्पिकमा फ्लेप्सले दुई सय मिटर बटरफ्लाई, दुई सय मिटर मेड्ली तथा अन्य तीन पुरुष रिलेमा सफलता पाएका थिए। कुनै पनि दिन कुनै खेलाडीका लागि अन्त्य हुँदैन भन्ने यी खेलाडीले पुष्टि गरेका छन्। बस समर्पणको आवश्यकता छ। सायद अर्को वर्ष उत्कृष्ट कम ब्याकको अर्को कथा लेखिने छ। स्रोतः एनबीसी स्पोर्ट्स, युएस जिम्न्यास्टिक, ओलम्पिक, स्वीमस्वाम