देश/प्रदेश

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

September 03, 2023

काठमाडौँ- पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिका ४ खलंगा घर भई हाल काठमाडौं २६ सामाखुसी बस्ने २८ वर्षीय नवराज खड्का रहेका छन् ।

उनले वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भनेर सन्दीप परियारसँग तीन लाख रुपैयाँ लिएर फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।