फाइल फोटो

समाचार

अवरुद्ध बनेको कालीगण्डकी कोरिडोर सञ्चालन

By खबरहब

September 03, 2023

ढोरपाटन – भारी वर्षाका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । वर्षाले गर्दा कोरिडोरको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि झरेको पहिराले शनिबार रातिदेखि सडक अवरुद्ध बनेको थियो ।

आइतबार दिउँसो बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरेर सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । सडक अवरुद्ध हुँदा कालिगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधान ठप्प भएका छन् । सडक सञ्चालनमा आएपछि यातायात आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।

दिनदिनै सडक अवरुद्ध भएपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न र यात्रा गर्न समस्या भइरहेको स्थानीयवासीको गुनासो छ । बागलुङ–कुश्मिसेरा सडकबाट झरेको पहिराले कोरिडोर अवरुद्ध भएको थियो । यो पहिराले कोरिडोर र अर्को वैकल्पिक सडकलाई पनि क्षतविक्षत बनाएको छ । वर्षा हुनेबित्तिकै यस खण्ड ठप्प हुँदै आएको छ ।