राजनीति

धार्मिक पर्यटकीयस्थलको विकास र प्रचारप्रसार गरिनुपर्छ : अध्यक्ष ओली

By खबरहब

November 03, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरासुन्दरी आफैँमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ मा आयोजित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको उद्घाटन गर्दै उनले धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व भएका स्थलको विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेको नेतृत्वमा मात्रै बूढीगण्डकी जलविद्युत् आयोजनाको कामअघि बढ्ने दाबी गरे । अहिलेको सरकारले बूढीगण्डकी आयोजनालाई चासो नदिएको उनले बताए । आफू प्रधानमन्त्रीबाट हटेपछि बूढीगण्डकी जलविद्युत् परियोजनाको अघि बढेको काम रोकिएको उनको भनाइ छ ।

कात्तिक १७ गते देखि २७ गतेसम्म सल्यानटारमा हुने मेला हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो । मेलामा ९० कक्ष रहेको छ । ५० हजारले अवलोकन गर्ने र १० करोडको कारोबार हुने अनुमान गरिएको आयोजक समितिका संयोजक लक्ष्मीकिशोर श्रेष्ठले जानकारी दिए ।

मेलाको आकर्षको रुपमा स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे,  तिल, घैया लगायतका प्रदर्शनी र बिक्री गरिने छ । कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरीपालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपका बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहेको छ ।