सुरक्षा

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली

By खबरहब

December 03, 2023

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली गरिएको जानकारी दिएको हो ।

संयुक्त राष्ट्रसंघको आह्वमानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणतन्त्रमा खटिएको कालीजंग गण लाइट इन्फ्यान्ट्री बटालियनको पहिलो डफ्फालाई बदली गर्नका लागि महावीर गण (रेञ्जर) को दोस्रो डफ्फाका २२५ जना सैनिकहरु त्यसतर्फ लागेको निर्देशनालयले जानकारी दिएको छ । प्रमुख सेनानी प्रज्वल थापा मगरको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चाटर्ड विमान (इथियोपियन एयरलाइन्स) मार्फत् सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान गरेको निर्देशनालयले जनाएको छ ।

यसैगरी, सोही मिसनमा तैनाथ पहिलो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी पदम बहादुर क्षेत्रीको नेतृत्वमा आजै गते स्वदेश फिर्ता भएका छन् । उक्त मिसनमा नेपाली सेनाका १२४० जना शान्ति सैनिकहरु कार्यरत रहेको पनि निर्देशनालयले जनाएको छ ।