एनसेलको शेयर बिक्रीमा नेपालका नेताको पनि संलग्नता छ : सांसद सिंह

By खबरहब

December 03, 2023

काठमाडौं – स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर बिक्री भएको दाबी गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनसाय राखेर खरिद बिक्री भएको दाबी गरे ।

एनसेल खरिद बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गर्न खोजिएको उनको आरोप छ ।

उनले भने, ‘एनसेलको शेयर ५० मिलियन डलरमा विक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार छु ।’ सिंहले एनसेलको शेयर विक्रीमा नेपालका नेताहरुको पनि संलग्नता रहेको आरोप लगाउँदै नेताहरूलाई अर्बमा फाइदा भएपनि नेपाली जनतालाई भने खरबौँ घाटा लागेको तर्क गरे ।

एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै उनले अहिले भएको अपारदर्शी खरिद–बिक्री  नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने धारणा राखे ।