अन्तर्राष्ट्रिय

विधानसभा चुनाव : तीन प्रदेशमा भाजपा र तेलंगानामा कंग्रेस-आईको जित

By खबरहब

December 03, 2023

काठमाडौं- भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा जितेको छ । भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो ।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस-आईले ६५ सिट मात्र जितेको छ । त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस-आईले ६९ सिट जितेको छ ।

छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस–आईले ३२ सिट जितेको छ । सन् २०१८ को निर्वाचनमा कंग्रेस–आईले जितेका यी तीन प्रदेशमा भाजपाले जित हासिल गरेसँगै कंग्रेस–आईलाई धक्का लागेको छ।

तेलंगना राज्यमा भने कंग्रेस–आईले भारत राष्ट्र समिति (बिआरएस) को दस वर्षे सत्ता अन्त्य गरेको छ। तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस-आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ । सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ ।