अन्तर्वार्ता

नेपालमा पनि मौसमी फ्लुविरुद्ध खोप लगाउनुपर्छ

By विना न्यौपाने

January 04, 2023

मौसम परिवर्तनसँगै शरीरलाई नयाँ मौसममा मिलाउन धेरै गार्हाे हुने गर्छ । त्यसैले शरीरमा धेरै प्रकारका रोग लाग्ने चिकित्सकको भनाइ छ । वातावरणमा भएको परिवर्तनसँगै शरीरमा धेरै रोगहरू लाग्ने गरेको छन् । त्यसैले यो जाडो मौसममा शरीरमा के कस्ता समस्या देखा पर्छन् ? कसरी बच्ने लगायतका विषयमा आधारित भएर फिजिसियन डा. प्रशान्त त्रिपाठीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

यो मौसममा कस्तो कस्तो समस्या देखा पर्दछ ? यो मौसममा रुघा खोकी ज्वरोका बिरामी बढेका छन् । कोही बिरामी ओपीडीमामा पनि भर्ना भएर बस्नु भएको छ । इन्फ्लुन्जा ’ए’ प्रजातिको बढी इन्फेक्सन भएको बिरामी पाएको छु । तराई भेग तिर शीतलहर चलेर मानिसको मृत्यु हुने पनि देखिएको छ । पोहोर जस्तो जाडो सुरु भएपछि प्रदूषण बढेर धुलो धुवा धेरै भएर रुघाखोकी लाग्ने समस्याहरू पनि देखिन्छ । कोठामा हिटर बालेर सुत्दा कार्बनमोनोअक्साइड बढी भएर मान्छेको मृत्यु हुने पनि देखिएको छ ।

यो मौसममा रुघा खोकी र घाँटी दुख्ने समस्या बढ्नुको कारण के हो ? यो फ्लुको समयमा भन्छौँ यो समयमा इन्फ्लुन्जा भाइरस जुर्मुराउदै जान्छ । त्यो भाइरस श्वासप्रश्वास बाट सर्ने हुँदा धेरैमा र छिटो सर्छ । यो सङ्क्रमण परिवारको एक जनामा भयो भने अरूमा पनि सजिलै सर्छ ।

सामान्य रुघा खोकी र इन्फ्लुन्जा भएको कसरी थाहा पाउने ? इन्फ्लुन्जा ’ए’ भनेको एउटा भाइरसको प्रजाति हो । सामान्य भाषामा भन्दा रुघाखोकी भनिन्छ यो सबैमा लाग्ने भाइरस एउटै भए पनि रोग प्रतिरोधात्मक क्षमता बढी भएको मान्छेमा केही समयमा लाग्ने र पछि आफै निको भएर जाने हुन्छ । तर बालबालिका, वृद्ध र रोग प्रतिरोधात्मक क्षमता कम भएको मान्छेहरूमा वा दीर्घ रोगीहरूमा यसले धेरै असर गर्दछ गार्हाे नै बनाउँछ । कारक तत्व सबैको एउटै हो । तर रोग कुन हद सम्म जाने भन्नेमा भर पर्दछ ।

बालबालिका वा वृद्धमा यो समस्या हुनु नदिन के गर्ने ? कोरोनाले हामीलाई धेरै सन्देश दिएर गएको छ । हात धुने सफा रहने मास्क प्रयोग गरेर हिँड्ने,भौतिक दुरी कायम गर्ने, भिडभाडमा न जाने ।कोही दीर्घ रोगी छन् भने फ्लु सट जुन वर्षमा एक पटक लगाउने । खानपानमा धेरै चिसो खाना नखाने, तातो घाममा बस्ने मौसमी फलफूलहरू खाने जस्तो सुन्तलाहरू खाने त्यसले रोगसँग लड्ने रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । न्यानो न्यानो बस्ने, स्वस्थ खाना खाने गर्दा पनि यो सङ्क्रमण रोक्न सकिन्छ ।

रुघाखोकी लाग्दा सुन्तला खान हुँदैन भनिन्छ नि ? आफूलाई डर लाग्छ भने फ्रिजबाट निकाल्ने बित्तिकै नखाने केही समय बाहिर राखेर तताएर खाँदा हुन्छ । फलफूलहरू खाँदा हुन्छ ।

सामान्य अवस्थामा पनि फार्मेसिमा गएर औषधि ल्याएर खानु कत्तिको उपयुक्त हो ? रुघाखोकी ज्वरो भनेको भाइरल रोग हो र यस्तो भाइरल रोगको छुट्टै औषधि हुँदैन । साइनेक्स, प्यारा सिटामोल लगायतका औषधि किनेर खाँदा त्यति असर गर्दैन । बाहिरी देशमा यी औषधि किनबेचमा धेरै ध्यान दिएको पाइन्छ र खासै असर गर्दैन तर हाम्रो देशमा कुर्नै समस्या लिएर गर्याे भने यान्टिबायोटिक दिनु हुन्छ । त्यसले पछि गएर धेरै असर गर्दछ । त्यसैले नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु डाक्टरको सल्लाह बिना औषधि बेचबिखनमा रोक लगाउनु पर्छ । राम्रोसँग हेरेर जाँचेर यान्टिबायोटिक आवश्यक पर्याे भने मात्र खाने हो ।

कोठा बन्ध गरेर दाउरा गुइँठा र हिटर बाल्दा कसरी बाल्ने ? कोठाभित्र आगो, गुइँठा र हिटर बाल्ने काम गर्नुहुँदैन । बाल्नै परे राम्रोसँग हावा आवतजावत गर्ने र धुवा बाहिर जाने गरी बाल्ने । श्वासप्रश्वासमा समस्या हुने मान्छेले मकल र दाउरा बालने ठाउँमा बस्नु हुँदैन ।

ग्यास गिजर बन्द गरेर बाथरुममा नुहाउँदा के गर्ने ? धेरैको ग्यास सिलिन्डर बाहिर राख्ने र बल्ने चुलो भित्र हुन्छ । त्यसरी भित्र आगो बाल्दा कार्बनमोनोअक्साइड हुन्छ, त्यसले विस्तारै मान्छेलाई बेहोस बनाउँछ र सबै अक्सिजन सकिन्छ र मान्छेको मृत्यु हुन्छ । त्यसैले यस्तो ग्यास गिजरको प्रयोग गर्दा पुरै कोठा बन्द गरेर गर्नु हुँदैन ।

यो मौसममा कुनै समस्या नआओस् भनेर के-के कुरामा ध्यान नदिने ? पहिलादेखि नै सरसफाइमा ध्यान दिने । निमोनिया रुघाखोकी भ्याक्सिनको प्रयोग गर्ने, बाहिर गएर सडे गलेको खाना नखाने गर्नुपर्छ ।

यस्तो भ्याक्सिन नेपालको सबै अस्पतालमा पाउन सक्छौ त ? अस्पतालमा यो पाइन्छ । सरकारले वृद्धवृद्धा र बालबालिकामा यो निःशुल्क गराइदिनु पर्दछ । विदेशतिर पनि यो मौसम भन्दा अगाडि फ्लु विरुद्धको खोप लगाउने गरिन्छ । हाम्रो नेपालमा पनि यो सुरु गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)