अन्तर्वार्ता

खस्किँदो अर्थतन्त्रले देश संकटतर्फ जान सक्छ

By खबरहब

January 04, 2023

काठमाडौँ : खस्कँदो अर्थतन्त्रलाई सुधार गर्न सरकारले पहिलो प्राथमिकतामा अर्थतन्त्र राखेर काम गर्न अति आवश्यक छ । देशको अर्थतन्त्र निकै नाजुक अवस्थामा पुगेको भन्ने आशङ्का रहेको बेलामा सरकारले अर्थतन्त्र जोगाउन कस्तो पाइला चाल्नु पर्ला त ? यसै विषयमा आधारित भएर नेपाल राष्ट्रिय योजना आयोगका पूर्व सदस्य अर्थविद् डा. डिल्लीराज खनालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

देशमा अर्थतन्त्र झन् खस्किदै गएको छ, यसमा तपाई सहमत हुनुहुन्छ ?  खस्कँदो अर्थतन्त्रमा ध्यान दिइएन भने देश संकटतर्फ नै जान्छ । युवाहरू विदेशमा गएर देशको केही थोरै भए पनि अर्थतन्त्र रेमिटेन्सले धानेको छ । कठोर नीति वृद्धि गर्दा गर्दै पनि मौद्रिक नीति खस्किएको छ । यदि बुद्धिमत्ता पूर्वक ध्यान दिएन भने संकटमा जान्छ देश ।

बुद्धिमत्ता पूर्वक ध्यान कसले दिनु पर्ने हो ?  जुन बेला कठोर मौद्रिक नीति लिइन्छ, त्यसमा राजस्व नीति खर्च नीति (फिस्कल नीति)मा बुद्धि पुर्‍याएर अगाडि बढ्नु पर्‍यो । र, त्यसबाट पर्ने प्रतिकुल असरलाई पहिचान नगर्दा अहिले निजी क्षेत्र आन्दोलनमा जानु पर्ने स्थिति बनेको छ ।

सरकारले आजको दिनमा गर्नै पर्ने काम के हो त ?  अघिल्लो वर्ष ३५ प्रतिशत भन्दा बढी रकमान्तर भएको छ । खर्च पनि त्यतिकै भएको छ कानुन कहाँ गयो त ? जबसम्म यो सरकारले नीति नियमलाई पालना गर्ने कानुन बनाउँदैन तब सम्म देशको विकास हुँदैन । उत्पादन क्षेत्रको विकास गर्ने । जेले अर्थतन्त्रलाई उकास्न मद्दत गर्छ त्यसको विकासमा यो सरकार जानु पर्‍यो। मौद्रिक नीति र वित्त नीतिलाई एक ठाउँमा राखेर काम गरेन भने कारबाही गर्ने नीति ल्याउनु पर्‍यो । सरकारमा हुने र प्रतिपक्षमा हुने सबै दलले जे घोषणा पत्र लिएर गएका छन् । त्यसलाई सम्बोधन गर्दै अगाडि जाउन् । तत्कालीन रूपमा अर्थतन्त्रमा देखिएका समस्यालाई सरकारले आफ्नो प्राथमिकता बनाएर काम गर्नु पर्दछ ।

अर्थ मन्त्रालयले के के गर्नु पर्दछ अब ?   पूरक बजेट ल्याउनु पर्दछ । तर अन्धाधुन्दरूपमा ल्यायो भने त्यसले अर्को अर्थतन्त्रमा बोझ थप्छ । अनुत्पादक खर्चलाई खटाएर पूरक बजेट ल्याउनु पर्छ । नीतिगत कुराहरू राष्ट्र बैक लगेर समन्वय गरेर जानु पर्‍यो  । निर्यातमा ध्यान दिने, पर्यटन क्षेत्र मा प्रर्वद्धन गर्ने, शिक्षा र स्वास्थ्यमा वा जनतालाई सेवा दिने ठाउँमा भएका हरेक समस्या हरू हटाउने, कमिसन तन्त्र र भ्रष्टाचार तन्त्रलाई अन्त्य हुनु पर्‍यो  । अब नयाँ सोच दृष्टिकोणको आधारमा जानु पर्‍यो  । किसान, युवा, जनताको समस्याहरूलाई हामी यसरी समाधान गर्छौ भनेर सरकार लाग्नु पर्‍यो ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)